
काठमाडौं । सरकारले ९ खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाका अनुसार बुधबारसम्ममा ९ खर्ब ५ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको हो ।
सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, कोरोनासँगै भएको निषेधाज्ञाका कारण राजस्व संकलनमा कमी आउँदा सरकारले लक्ष्य नै संशोधन गरी ९ खर्ब ५९ अर्ब बनाएको थियो ।
हिजो र आज राजस्व संकलन हुने मुख्य दिन भएकाले संशोधित लक्ष्य बराबरको राजस्व उठ्ने महाशाखाले जनाएको छ । विभिन्न संस्थानहरुको लाभांश तथा आयकरका किस्ताहरु पनि आउन बाँकी भएकाले डराइहाल्नु पर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।
सरकारले कर विवरण तथा कर दाखिला गर्ने म्याद २५ गते अर्थात् आजसम्मलाई तोकेको छ । जसकारण आर्थिक वर्ष सकिन केही दिन अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्ब भन्दा बढी राजस्व उठिसकेको महाशाखाले जनाएको छ ।
चालु आर्थिक वर्षमा गैरकर नउठ्दा राजस्वमा कमी आएको मन्त्रालयले जनाएको छ । बुधबार सम्ममा जम्मा ५८ अर्ब बराबरको गैर कर उठेको छ । तर, अझैपनि भन्सार नियमित आइरहेकाले राजस्व यति नै उठ्छ भन्न नसकिने सरकारी अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्