१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निषेधाज्ञा अटेर गर्दै व्यवसायी, प्रशासनलाई चुनौती दिएर व्यवसाय सञ्चालन


0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्बाइएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार २१ गते देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेका छन् । पछिल्लो समय थप गरिएको निषेधाज्ञा विगतको भन्दा खुकुलो देखिएको छ । यो पटकको निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्वास्थ्य मापदण्डको पनि पालना भएको देखिँदैन ।

जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञामा व्यवसाय सञ्चालन तथा पसलहरू खोल्ने समय सीमा तथा स्वास्थ्य मापदण्ड तोकेको भए पनि व्यवसायीहरू यसको पालनामा उदासिन देखिएका छन् । प्रशासनको निषेधाज्ञा र स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमण झन् भयावह हुने देखिएको छ ।

पछिल्लो पटकको निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएका व्यवसाय पनि खुलेका छन् । सैलुन, खाजाघर तथा दोहोरी रेष्टुराँका सञ्चालहरूले प्रशासनको निषेध आदेशलाई चुनौती दिँदै व्यवसाय सञ्चालनमा ल्याएका छन् ।

त्यस्तै उपत्यका भित्र सञ्चालनमा आएका सार्वजनिक सवारी साधनमा पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरेकोसमेत पाइँदैन । प्रशासनको आँखा छल्दै कतिपय पार्टी प्यालेस पनि सञ्चालनमा आएका छन् । कोरोना संक्रमणबाट बच्न आम नागरिक स्वास्थ्य मापदण्डको पालनामा सचेत हुनुपर्ने देखिएको छ ।

दोस्रो चरणको कोरोनापछि बैशाख १६ बाट जारी निषेधाज्ञा अहिलेसम्म कायमै छ । तर, निषेधाज्ञाका नाममा प्रशासनको मौनता र व्यवसायीको मनपरीले तेस्रो लहरको संक्रमण नआउला भन्न सकिँदैन ।