
डोलराज रानाभाट
चितवन । जब–जब नारायणी नदी उर्लिन्छ तब नदी तटीय क्षेत्रका बासिन्दालाई पिरलो पर्छ । तर, पौडी खेल्न जान्नेहरूका लागि भने उर्लिएको नारायणी आम्दानीको मुख्य स्रोत बन्ने गरेको छ । नदीले बगाएर ल्याएको काठ दाउरा संकलन गरेर भरतपुर–४ का स्थानीयले घर खर्च टार्दै आएका छन् ।
निषेधाज्ञा र कोरोना महामारीले दैनिक ज्याला मजदुरी गर्ने ठाउँहरू प्राय बन्द छन् । जसको असर विपन्न र न्यून आय भएका स्थानीयलाई परेको छ । परिवार पाल्न र दैनिक चुलो बाल्न समस्या भइरहेको छ । तर, भरतपुर–४ का स्थानीयलाई उर्लिएर बग्ने नारायणी नदीले जीवन गुजारा गरिदिँदै आएको छ ।
भरतपुर–४ का गणेश कुमाल नदीले बगाएर ल्याएको मुढा संकलन गर्न व्यस्त देखिन्छन् । उनलाई अहिले नदीले यसरी बगाएर ल्याएका दाउरा र मुढा समाउन भ्याइनभ्याइ छ । वर्षायाममा मात्र उनलाई यो नदीले १२ हजार रुपैयाँ भन्दा बढी आम्दानी दिइसकेको छ ।
त्यसो त नारायणी नदी कति बेला बढ्छ र कतिबेला घट्छ पत्तो हुँदैन । त्यसैले पौडी खेल्न जान्नेहरू मात्रै यस व्यवसायमा संलग्न छन् । कोही परिवार सहित त, कोही साथीहरूसँग मिलेर मुढा संकलन गरिरहेका देखिन्छन् । तर, आम्दानीको स्रोत नभएपछि यहाँ आउने सबैलाई यो व्यवसाय गर्नैपर्ने बाध्यता छ ।
यीनै मध्येकी कमला परियार, कतिको घरगोठ बगाएर ल्याएको हुने भन्दै आफूहरूले खुसीले यो काम नगरेको बताउँछिन् । ज्यान जोगाउन र चुलो बाल्नकै लागि आफूहरूले जोखिम मोलेर काम गरेको उनको भनाइ छ । जोखिम मोलेरै काम गरेको बताइन् । जसको आम्दानीबाट अहिले जेनतेन उनीहरूको चुलो निभ्न पाएको छैन ।
संकलन गरिने मुढाहरू चिरेर दाउरा बनाउने, बार लगाउने र राम्रा मुढा आए ससाना कुर्ची टेबल बनाएर बिक्रि गर्न सकिन्छ । कहिलेकाहिँ यस्ता कार्य प्रशासनले रोकिदिने गुनासो उनीहरूको छ । खेर गएका काठ दाउरा सुरक्षित भएर संकलित गर्दा आम्दानीसँगै घरायसी प्रयोजनमा सहयोग मिलेको उनीहरूको भनाइ छ ।
नारायणी बढेपछि पुलमा हेर्नेहरूको घुँइचो लाग्छ । पौडी खेल्न जान्नेहरू भने किनारमै बसेर दाउरा संकलनमा व्यस्त हुन्छन् । बालबालिकादेखि महिला पुरुषको उतिकै भीड देखिने जोखिमपूर्ण कार्य गर्दा सतर्क र सचेत हुन भने जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्