१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागढुङ्गा सुरुङ्गको काम समयमै सक्न र भत्किएका पुलको विवरण पेश गर्न संसदीय समितिको निर्देशन


0
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुङ्गा सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले नागढुङ्गा सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सक्नेगरी गर्न र आयोजनाका अध्यावधिक प्रगति लगायत सम्पूर्ण विवरण विभागको वेवसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले सडक आयोजना तथा पुलहरूको गुणस्तरमा ध्यान दिन र यस वर्ष भत्केको पुलहरू भत्किएका कारणबारे समितिलाई जानकारी गराउन सडक विभागलाई निर्देशन दिएको छ ।

बैठकले नागढुङ्गा सुरुङ्ग मार्ग आयोजनाको बढी बजेट र मूल्य अभिवृद्धि करसम्बन्धी पर्न गएको असमझदारी र सो को व्यवस्था गर्न अर्थ मन्त्रालयलाई ध्यानाकर्षण पनि गराएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरूमा काम गर्ने सम्पूर्ण मजदुर लाई कोरोना विरुद्धको खोप तत्काल उपलब्ध गराउन पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नागढुङ्गा सुरुङ मार्ग आयोजनाको स्थलगत अवलोकन गर्न आयोजना स्थल जाने निर्णय गरेको पनि समिति सभापति तारादेवी भट्टले जानकारी दिनुभयो ।