
बिराज रोस्यारा
कैलाली । कोभिड–१९को त्रासले स्वदेश फर्किएका नेपालीहरू जीवन धान्नै मुस्किल भएपछि फेरि भारत जान थालेका छन् । भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका नागरिक कोभिडको त्रासले नेपाल फर्किए पनि हातमुख जोड्नै समस्या भएपछि पुनः फर्किन बाध्य भएका हुन् ।
भारतमा कोभिड संक्रमण नघटे पनि परिवारको जीवन धान्नकै लागि भए पनि जानुपरेको उनीहरूको भनाइ छ । पहँुच भएका, मन्त्री र नेताका नातेदारले मात्रै रोजगारी र अनुदान पाउने गरेको गुनासो उनीहरूको छ । तर, आफ्ना लागि कसैले केहि नगर्दा भारत नै जानु पर्ने बाध्यता आई परेको उनीहरू बताउँछन् ।
‘गरिबलाई काम नगरी खान पुग्दैन,’ भारत जान लागेका एक युवक भन्छन्, ‘परिवार धान्नै मुस्किल भएपछि उतै(भारतमै) काम पाइन सहज हुने भएकाले जान लागेको ।’
कोरोना महामारी केही कम भए पछि भारतका केही बजारहरू खुल्न थालेका छन् । सार्वजनिक यातायात र रेल सेवा सञ्चालनमा आएका छन् । भारतबाट फर्किएको केही महिना मात्रै भएको र दुई महिनामै बालबालिका र परिवारलाई के खाऊँ, के लाउँको अवस्था सिर्जना भएकाले जानु परेको सबैको दुःखेसो छ ।
नेपाल हुँदा घर निर्माण, सडक निर्माणलगायतका विकास निर्माणका काममा रोजगारी पाउने आशा पालेका उनीहरू निराश भएर पुनः भारत तर्फ नै हिड्नु परेको छ । आफूले अहिलेसम्म सरकारको तर्फबाट कुनै पनि राहत र अनुदान नपाएको भारत जान लागेका एक पुरुष बताउँछन् ।
भारतबाट नेपाल आउनेको संख्याको तुलनामा तीन गुणा नेपाली भारत तर्फ जान थालेका छन् । नेपालतिर खेतीपातीको काम सकिएको र भारतमा कोरोनाको पनि जोखिम कम भएको खबर आउन थालेपछि भारत जान थालेका हुन् ।
अहिले भारत पसेका अधिकांश सुदूरपश्चिमको गौरा पर्व र बडादशैंका बेला फर्किने गरेका छन् । तर, सरकारले रोजगारी देला र परिवारसँगै बसौँला भन्ने उनीहरूको रहर भने यसपटक पनि पूरा हुन सकेन । त्यसैले पनि रोजगारी गुमाएका नागरिकको रोजगारीका लागि सरकार गम्भीर बन्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्