
एजेन्सी । हेइटीले अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैनिक सहायताका लागि अपील गरेको छ ।
राष्ट्रपति जोभिनल मोइसको हत्या भएपछि देशका प्रमुख पूर्वाधारहरूको रक्षाका लागि हेइटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघसँग आफ्नो देशमा सैनिक पठाउन आग्रह गरेको हो । अमेरिकाले भने तत्कालका लागि सैनिक सहयोग गर्ने योजना नरहेको जनाएको छ ।
हेइटीको प्रहरीले यसअघि राष्ट्रपति मोइसको हत्यामा २८ जना विदेशी आपराधिक व्यक्तिहरूको समूह संलग्न रहेको बताएको थियो । राजधानी पोर्ट–ओ–प्रिन्समा भएको भिडन्तपछि १७ जना पक्राउ परेका छन् । समूहमा रहेका केही व्यक्तिहरु कोलम्बियाको सैनिक बलबाट अवकास प्राप्त रहेको हेइटीले बताएको छ । अरु भने ताइवानको कूटनीतिक घेराबाट हेइटी प्रवेश गरेको अनुमान छ ।
प्रहरीको गोली लागेर तीन अभियुक्त मारिएका छन् । अरु ८ जना भने अझै फरार रहेका छन् । सैन्य सहयोग तत्काल उपलब्ध गराउने योजना नरहेको बताएको अमेरिकाले अनुसन्धानका लागि संघीय अनुसन्धान ब्यूरो (एफबिआई) तथा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीहरु भने पठाउने जनाएको छ ।
संयुक्त राष्ट्रसंघले कुनै पनि देशमा सैनिक सहयोग पठाउनका लागि सुरक्षा परिषदबाट पारित गराउनु पर्छ । राष्ट्रपतिको हत्यापछि हेइटीमा अस्थिर अवस्था सिर्जना भएको छ । अमेरिकाको गरिब देशमा पर्ने हेइटीमा अहिले आपतकालीन अवस्था लागु भएको छ । राष्ट्रपति मोइसको जुलाई ७ मा उनकै घरमा हत्या भएको हो ।
प्रतिक्रिया दिनुहोस्