
वीरगञ्ज । गलत व्यवस्थापनका कारण वीरगञ्जस्थित नारायणी अस्पतालको फार्मेसी पसलको कारोबार ठप्पप्राय छ ।
चार वर्षअघि २० लाख रुपैयाँबाट परिसरमा फार्मेसी सञ्चालन गरेको अस्पतालको गलत व्यवस्थापनले फार्मेसी आफैँ कोमामा पुगेको छ । सञ्चालन भएको समय दैनिक ५० हजारसम्मको कारोबार हुने फार्मेसीमा आजकल दैनिक ३–४ हजारको मात्र कारोबार हुने गरेको छ ।
अस्पतालको फार्मेसीमा अहिले ज्वरो र टाउको दुखेको बेलामा प्रयोग गरिने सामान्य पारासिटामोल समेत पाइन छाडेको छ । फार्मेसी बन्द हुने अवस्थामा पुुग्दा अस्पताल परिसर बाहिरका फार्मेसीले लाभ उठाइरहेका छन् भने सेवाग्राहरी प्रत्यक्ष मारमा परेका छन् ।
कर्मचारीहरूको मिलेमतोमा फार्मेसीलाई जानीजानी बन्द हुने अवस्थामा पुर्याइएको एक चिकित्सक बताउँछन् । कहिले कर्मचारी नबस्ने त कहिले औषधि नभएको बहानामा बिरामी कुरुवालाइ जबरजस्ती बाहिरको फार्मेसी पठाउने गरिएको उहाँको आरोप छ ।
अस्पताल प्रशासनका नायब सुब्बा मुकुन्दकुमार पौडेलका अनुसार फार्मेसीमा एक फार्मेसी अधिृकत, चार फार्मेसी सहायक र एक कार्यालय सहयोगी गरी ६ जना कर्मचारी रहेका छन् । अस्पतालका कर्मचारीहरू फार्मेसीका कर्मचारीको लापरबाहीले यस्तो अवस्था आएको आरोप लगाउँछन् ।
प्रतिक्रिया दिनुहोस्