१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गण्डकी सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको पूर्वमुख्यमन्त्री गुरुङको आरोप


0
Shares

पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको आरोप लगाउनुभएको छ ।

एमाले संसदीय दल गण्डकी प्रदेशले पोखरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमुख्यमन्त्री गुरुङले कांग्रेसको नेतृत्वको प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको सुरुवात गरेको बताउनुभयो । उहाँले विना योजना विभिन्न क्षेत्रमा रकम खर्च गर्ने बताइरहेको प्रदेश सरकारले कार्यकर्तालाई रकम बाँडेको आरोप लगाउनुभयो ।

यसअघि एमाले नेता गुरुङ नेतृत्वको प्रदेश सरकारले जाँदा जाँदै विना योजनाका ४ अर्ब ५१ करोड रुपैयाँ रकम बराबरको ठेक्का लगाएको आरोप पोखरेल नेतृत्व सरकारले लगाएको थियो । सरकारको आरोपको खण्डन गर्दै गुरुङले सबै ठेक्का कानुन बमोजिम लगाइएको दाबी गर्नुभयो । आफ्नो नेतृत्वको सरकारले सबै कामकारबाही खुला र पारदर्शी रूपमा गरेको उहाँको भनाइ छ ।

गुरुङले साढे चार अर्बको ठेक्का प्रक्रिया अगाडि बढाए पनि कानुनविपरीत नरहेको बताउनुभयो । ठूलो रकमको योजनाका लागि ठेक्का लगाएको गत २२ असारमा सार्वजनिक भएको थियो । बजेटमै नभएका योजना टेण्डर गरेको भन्दै निवर्तमान मुख्यमन्त्री गुरुङमाथि प्रश्न उठेको थियो । नेता गुरुङले टेण्डरमा लगाइएका योजना रणनीतिक सडक योजना, एक निर्वाचन क्षेत्र एक सडक, समपुरक अनुदानअन्तर्गतको रहेको बताउनुभयो ।