
काठमाडौं । नेकपा एमाले एकता कार्यदलको बैठकले आइतबार पार्टी मिलेको घोषणा गर्ने भएको छ ।
शनिबारको बैठकपछि पत्रकारसँग कुरा गर्दै वार्ता टोली सदस्य गोकर्ण विष्टले पार्टीभित्रको समग्र समस्या समाधान खोजिएको र आइतबार सुखद समाचार आउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले समग्रतामै समस्या समाधान खोजेका छौं । आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद समाचार भोलि नै दिन्छौं । हामी धेरै हदसम्म सफल भएका छौं ।’
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको फैसला अघि नै एमाले एकताबद्ध भएको घोषणा हुने उहाँले बताउनुभयो । पार्टीलाई एकताबद्ध गर्न सहज काम नभएको बताउँदै उहाँले विभिन्न चरण पार गर्दै भोलि सार्थक सन्देश दिने उहाँको भनाइ छ ।
यस्तै ओलीपक्षीय नेता सुवास नेम्वाङले भोलि बिहान ८ बजे सुखद समाचार आउने बताउनुभयो । तीन वर्षदेखिको समस्या मिलाउन केही दिन बढी लाग्नु स्वभाविक भएका उहाँको भनाइ छ ।
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेको प्रसङ्गले बैठक बस्न ढिला भएको भन्ने ज्ञिजाशालाई स्पस्ट पार्दै उहाँले वार्तामा त्यस विषयले प्रवेश नपाएको स्पस्ट पार्नुभयो ।
यसअघि शुक्रबार पनि कार्यदलका सदस्यहरूले शनिबार एकताको घोषणा हुने बताएका थिए। कार्यदलको बैठक सुरु हुनुअघि नेपाल पक्षीय कार्यदल सदस्यहरू माधव नेपाललाई भेटेर फर्किएका थिए।
प्रतिक्रिया दिनुहोस्