२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


धितोपत्र बोर्डद्वारा १४ अर्बको शेयर बिक्रीका लागि अनुमति


0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा कुल १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आर्थिक वर्षमा विभिन्न सात कम्पनीले हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएका छन् ।

सबैभन्दा ठूलो परिमाणको हकप्रद शेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ । नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको यस कम्पनीले दर्जनभन्दा बढी आयोजनामा यसअघि नै लगानी गरिसकेको छ ।

कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पु¥याउने लक्ष्यका साथ एचईईडीसीले हकप्रद शेयर बिक्री गर्न लागेको हो । बोर्डले कम्पनीलाई ११ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । अहिले ११ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी भएको कम्पनीले हकप्रद शेयर बिक्री गरेपछि कुल पुँजी २२ अर्ब रुपैयाँ बराबर पुग्नेछ ।

यस्तै बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । नागरिक लगानी कोषले समेत चालु आवमा नै हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो । कोषले १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।

यसैगरी नारायणी डेभलपमेन्ट बैंकले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार दुई सय रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ५२ करोड ४१ लाख १९ हजार सात सय रुपैयाँ र अपि पावर कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।

यस्तै बोर्डले चालु आर्थिक वर्षमा मात्रै २३ वटा बैंक तथा वित्तीय संस्थालाई २३ अर्ब चार करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले पछिल्लो पटक मैलुङ खोला जलविद्युत् आयोजनालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएपछि चालु आवमा मात्रै कुल १९ कम्पनी पुगेका छन् ।