
काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशमा असारे विकासले तीव्रता पाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नौ अर्ब मात्र खर्च गरेको प्रदेश सरकारले पछिल्लो २५ दिनमा सात अर्ब रुपैयाँ बढी खर्च गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेटमा जेठ मसान्तसम्म नौ अर्ब सात करोड ९२ लाख खर्च भएको थियो ।
असार महिनाको २५ गतेसम्म १६ अर्ब ८२ करोड ७९ लाख खर्च भएको छ । सरकारले चालु बजेटतर्फ ४९ दशमलव २५ र पुँजीगततर्फ ५० दशमलव ३४ प्रतिशत खर्च गरेको छ ।
कोरोना महामारी हुनु, कार्यान्वयन संयन्त्रको तुलनामा बजेटको आकार ठूलो हुनु, तयारीविनाका आयोजनालाई बजेट दिइनु, समयमै बजेटको बाँडफाँट नहुनुलगायतका कारण बजेट खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्