
डोलराज रानाभाट
चितवन । लकडाउनकै समय चितवनको भरतपुर १ रामनगरका स्थानीयले डम्पिङ बनेको ठाउँमा पृष्प वाटिका बनाएर पर्यटक तान्दै छन् । लकडाउनको सदुपयोग गर्दे स्थानीयले पुष्प वाटिका बनाएका हुन् ।
पहिलो चरणको कोभिड १९ को महामारी र लकडाउनको समयदेखिनै रामनगर पुष्प वाटिका निर्माणको काम सुरु भएको थियो । विस २०६९ सालदेखिको योजना भएपनि संरक्षण हुन सकेको थिएन ।
स्थानीयले बगैंचा, चिल्ड्रेन पार्क, वाटर फाउण्टेन, मितेरी पुल, शिवजीको मूर्ति आदि स्थापना गरेका छन् । सतनचुली सामुदायिक वन क्षेत्रभित्र एक विघामा फूल बगैंचा र एक विघामा फलफूलको वृक्षारोपण गरीएको हो ।
कुनै बेलाको डम्पिङ स्थानीयको सक्रियताले मनै लोध्याउने ठाउँ बन्दा स्थानीय खुशी भएका छन् । रामनगरका महिला समूहको विशेष सक्रियतासहित स्थानीय र महानगरको सहयोगबाट पुष्प वाटिका निर्माण गरीएको रामनगर पुष्प वाटिकाकी अध्यक्ष डीलकुमारी लामिछाने बताउनुभएको छ ।
यात्राबाट थाकेका यात्रु र चालकहरुलाई एकैछिन भएपनि आनन्द लिने र घुम्ने ठाउँको रुपमा यसलाई विकास गर्न लागिएको छ । बरण्डाभार क्षेत्र भएकाले पर्यापर्यटनको सम्भावना पनि उत्तिकै छ ।
पुष्प वाटीकाका संरक्षक तारानाथ कुँवर स्थानीय संस्कृति र परम्परा झल्काउने गरी संरचना बनाउने, सेल्फि जोन, पिकनिक स्पोट आदि निर्माण गर्ने योजना रहेको जानकारी गराउनुभएको छ ।
पृष्प वाटिका अबको दुई महिनाभित्र प्रवेश अनुमति दिइने छ । पुष्पवाटिका निर्माणमा हालसम्म करिव २२ लाख खर्च भएको छ । वडाले १ लाख ५० हजार र भरतपुर महानगरपालिकाले ८ लाख ५० हजार सहयोग गरेको छ ।
यो बाहेक अन्य स्थानीयले रकम जुटाउँदै जनश्रमदान गर्दै पुष्प वाटिकालाई चिटिक्क बनाउन सक्रिय छन् ।
प्रतिक्रिया दिनुहोस्