
केशव कोइराला
बर्दिया । गेरुवा गाउँपालिका–१ स्थित ओखरिया इन्टेक पर्यटक हवका रुपमा विकास हुँदै गएको छ । कुनैबेला पिकनिक मनाउनेहरुका लागि मात्र सीमित ओखरिया इन्टेकमा आजभोलि आन्तरिक र बाह्य पर्यटकको भीड लाग्न थालेको छ ।
वातावरणमैत्री आराम बेन्च, टेवल, कुर्ची, एक सिंङ्गे गैडाको मूर्ति, ट्री हाउस र शहीद पार्क निमार्ण गरिएपछि एकाएक इन्टेक क्षेत्रमा घुम्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो ।
अहिले दिनहँु सयौंको संख्यामा जिल्ला भित्र र जिल्ला बाहिरका पर्यटकहरु इन्टेकमा आउने गरेका छन् । कर्णाली नदीको किनार मनोरम वातावरण, हरियाली, डाँडाकाँडा, सहजै देख्न सकिने कर्णाली पुलको एकखम्बे पिलर र सिँचाइका लागि नदी डाइभर्ट गरी बनाइएको इन्टेक त्यहाँका प्रमुख हेर्न लायक दृश्यहरु हुन् । बन्दाबन्दीको समयमा घरभित्रै बस्दा दिक्क भएकाहरुलाई यहाँ आउँदा आनन्द महसुस भएको बताउँछन् ।
स्थानीय सरकारको खासै चासोमा नपरेको ओखरिया इन्टेकमा स्थानीय केही युवाहरुले व्यक्तिगत रुपमा पैसाको जोहो गरेर केही आराम बेन्च ल्याएर राखेपछि गेरुवा गाउँपालिकाले समेत ५ करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकमबाट भ्यूटावर, ¥याप्टिङ बोर्ट बनाउने योजना रहेको ओखरीया पर्यटन प्रर्वद्धन समितिका सहसचिव लक्ष्मीप्रसाद जैसी बताउनु हुन्छ ।
आफ्नो गाउँठाउँको विकासका लागि संगठित भएर अगाडी बढे सरोकारवाला निकायहरुको साथ सहयोग प्राप्त हुने रहेछ भन्ने गतिलो उदाहरण पेश भएको छ ।
यसर्थ यसरी नै हरेक काममा युवाहरु सक्रिय भएर स्वःस्फूर्त रुपमा अगाडि बढे स्थानीय क्षेत्रको विकास निमार्णको कामले पूर्णता पाउनेमा दुई मत नै छैन ।
प्रतिक्रिया दिनुहोस्