
प्रज्ञा तिमल्सीना
काठमाडौं । कोरोना संक्रमितको संख्या उकालो लागेसँगै सबै निजी तथा सरकारी अस्पतालहरूले आकस्मिक बाहेकका अन्य सेवा पूर्ण रूपमा सुचालु गर्न सकेका थिएनन् । निषेधाज्ञा र कोभिडको डरले धेरै व्यक्ति अस्पताल नै आएनन् ।
असार ८ गते देखि जनजिवन चलायमान हुन थालेसँगै विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल आउने बिरामीको चाप विस्तारै बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख ठूला सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको अस्पताल प्रशासनहरूले जनाएका छन् ।
वीर, पाटन, त्रिवि शिक्षण अस्पतालमा दिनहुँ ठूलै संख्यामा विभिन्न स्वास्थ्य समस्या लिएर आउने बिरामी बढेका छन् । वीर अस्पतालमा क्षमतमाको २५ प्रतिशत कोरोना बाहेकका बिरामी आउने गरेको चिकित्सक अच्युत कार्की बताउनुहुन्छ । ओपडिमा अहिले दैनिक ७ देखि ८ सय संख्यामा बिरामीको उपचार गर्न थालिएको उहाँको भनाइ छ ।
शल्यक्रिया, ओपिडि, आकस्मिक सेवा लगाएतका अन्य सेवा अस्पतालले सुचालु गर्न थालेका छन् । २ महिनादेखि आकस्मिक बाहेकका सेवा ठप्प हुँदा बिरामीहरूले निकै सास्ती समेत बेहोरेका थिए । कोरोना भएर निको भएकाहरू समेत पोष्ट कोभिडका समस्या लिएर अस्पताल आउने क्रम बढेको त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बम बताउनुहुन्छ ।
यता, कोभिड संक्रमितको संख्या घट्ेको जस्तो देखिए पनि अस्पताल आउने बिरामीको संख्यामा खासै कमी नभएको अस्पतालहरूले जनाएका छन् । निजी अस्पतालमा आईसीयू र भेन्टिलेटरमा रहेका संक्रमित हाल सरकारी अस्पतालमा स्थानान्तरण गरिएकाले पनि अस्पतालमा संक्रमितको चाप नघटेको बताइएको छ ।
यस्तै, निषेधाज्ञा खुकुलो भए सँगै संक्रमितको चाप केही बढ्दै गएकाले पुनः संक्रमण बढ्ने खतरा रहेको समेत विज्ञहरूले बताएका छन् ।
निषेधाज्ञा खुलेसँगै अवस्था सामान्य बन्दै गएको भानमा भिडभाड बढ्दै गएको छ । संक्रमणदर यसै पनि २० प्रतिशत हाराहारीमै रहेको छ । त्यसभन्दा तल घट्न सकेको छैन । यसरी संक्रमणदर नघटिरहेको बेला स्वास्थ्य सुरक्षा सावधानी अपनाइ थप सजग हुनु नै सबैको हितमा देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्