
नरेन्द्र मानन्धर
काठमाडौं । प्राचिनकालमा नै नेपाल मण्डलमा व्यवस्थित शहरको विकास भइसकेको पाइन्छ । यहाँ वैज्ञानिक खानेपानी प्रणाली समेत रहेको पुष्टि भइसकेको छ ।
शहरमा पानीको व्यवस्थाको लागि राजकुलो, इनार, कुवा, पोखरी, हितिमंगा र भूमिगत पानी संरचनाको पनि व्यवस्थित विकास भएको पाइन्छ । यस मध्ये जःधुं हिति पनि एक हो । तर यो अहिले खासै प्रयोगमा छैन ।
जःधुं हिति, पूर्वजको ज्ञान र समृद्धिको प्रतिक हो । सफा पिउने पानी आपूर्तिको लागि त्यति बेला टोल–टोलमा ट्याङ्कीको रूपमा ढुङ्गाको कलात्मक जःधुं हिति बनाइएका हुन्थे । बटुवाहरू जःधुं हितिको पानी पिएर प्यास मेट्थे ।
जःधुं हिति प्राय इनार नजिक राखिएको हुन्थ्यो । मानिसहरू घरको लागि इनार, कुवा, पोखरी र हितिबाट पानी लिएर जाँदा बटुवाहरुको लागि केही पानी जःधुं हितिमा खन्याएर जान्थे । जःधुं हितिको धारा कस्तो हुन्थ्यो त्यो अहिले थाहा छैन । तर, पानी निस्कने प्वाल भने स्तन आकारको हुने गरेको पाइएको छ ।
प्राय यस्ता हितिहरू अहिले लोप भइसकेका छन् भने भएका पनि जीर्ण र प्रयोगविहीन अवस्थामा रहेका छन् । ललितपुरका यस्ता हितिहरूमा भने जलसम्बन्धी देव–देवी र जल प्राणीहरूको चित्र कलात्मक रूपमा कुँदिएको देखिन्छ ।
प्रयोगमा नरहेता पनि पुरातात्विक महत्वको भएकोले कहिँकतै पुनर्निर्माण पनि गरिएका छन् । काठमाडौंको इटुंबहाः मा करिब चार सय वर्ष पुरानो एउटै ढुङ्गामा बनाइएको जःधुं हिति हालसम्म पनि प्रयोगमा आइरहेको छ ।
जःधुं हिति बचाउनका लागि सकेजति प्रयोगमा ल्याउनुपर्ने इटुंबहाः सुधार समितिका सल्लाहकार भगवान शाक्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘प्रयोगमा ल्याएमात्रै कसरी संरक्षण गर्ने भन्ने विषय उठ्छ, प्रयोग नै नभएको खण्डमा त संरक्षणको कुरै आउने भएन ।’
हितिको प्वाल स्तन आकारको बनाएका सम्बन्धमा सामाजिक र सांस्कृतिक अनुसन्धान हुनु पर्ने अभियन्ता आलोकसिद्धि तुलाधरको राय छ । पुरातात्विक र ऐतिहासिक महत्वको जःधुं हिति बचाएर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा शाक्यको भनाइ छ ।
पुर्खाको पानी पिउने प्रणालीको प्रविधिलाई बचाउन सके ज्ञान पुस्तान्तरण गर्न पनि सहज हुने थियो कि ?
प्रतिक्रिया दिनुहोस्