१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अदालतको फैसलाले संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गर्‍यो– प्रदीप ज्ञवाली


0
Shares

काठमाडौं । नेकपा(एमाले)का प्रवक्ता प्रदिपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गरेको बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरू सँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गरेको बताउनुभएको हो ।

उहाँले आजको बैठकमा उपस्थित उपलब्ध स्थायी कमिटी सदस्यहरूले राज्यका तीनवटा अंगहरूबीचको शक्ति सन्तुलनलाई हल्लाइदिने काम गरेको साझा निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भए पनि फैसला कार्यान्वयन भने गर्ने उहाँले बताउनुभयो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्ने सामान्यतया लोकतन्त्रमा कल्पनाभन्दा बाहिरको अभ्यास भए पनि नेपालमा आजबाट सुरु भएको ज्ञवालीको टिप्पणी छ । रगतपसिना एक गरी ७० वर्षदेखि नेपाली जनताले लडेर ल्याएको दलीय व्यवस्थालाई सर्वोच्च अदालतले जस्केलाबाट छिराउन खोजेको उहाँको भनाइ छ । सर्वोच्चको फैसलाले लोकतान्त्रिक प्रणाली, संसदीय प्रणालीका आधारभुत संरचनाहरूलाई खल्बल्याउने काम गरेको उहाँको आरोप छ ।

प्रवक्ता ज्ञवालीले सरकार संसदमा उपस्थित दलले बनाउने र राष्ट्रपति कार्यालयबाट त्यसको विधिवत् घोषणा गर्ने भए पनि आजको फैसलाबाट प्रधानमन्त्री सर्वोच्च अदालतले नियुक्त गर्नुपर्ने जस्तो कल्पना भन्दा बाहिरको अभ्यासको सुरु भएको पनि बताउनुभयो ।

पार्टी स्थायी कमिटी बैठक मंगलबार पुनः बस्ने प्रवक्ता ज्ञावलीले जानकारी दिनुभयो ।