८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


देउवासँगको छलफलपछि माओवादी केन्द्रले मन्त्री टुङ्गो लगाउने


0
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुङ्गो लगाउने हुनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले तुरुन्तै भावि प्रधानमन्त्री देउवासँग सरकारको स्वरूपका बारेमा ठोस छलफल गरेपछि मात्रै माओवादी केन्द्रका तर्फबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाइने जानकारी दिनुभयो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण फैसलाको रूपमा लिँदै स्वागत गरेको छ । फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको र स्वेच्छाचारिता र निरंकुशताको नियन्त्रण तथा अन्त्य गर्न महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष बैठकले निकालेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रतिगमन विरोधी संघर्षका क्रममा आफूहरूले गरेका प्रतिबद्धता पूरा गर्न इमान्दारपूर्वक अघि बढ्ने संकल्प गरेको पनि उल्लेख गर्नुभयो ।

माओवादी केन्द्रले सबै राजनीतिक पार्टीहरूलाई आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्नका लागि राष्ट्रिय सहमतिका साथ एकतावद्ध भएर अगाडी बढ्न पनि अपिल गरेको छ । प्रवक्ता श्रेष्ठले भन्नुभयो – ‘संविधान र लोकतन्त्रको पक्षमा अदालतको फैसला आएपछि र त्यो कार्यान्वयनको प्रक्रिया अगाडी बढ्ने कुरा सँगसँगै सबै राजनीतिक पार्टीहरूलाई, सबै शक्तिहरुलाई राष्ट्रिय सहमतिका साथ ऐतिहासिक परिवर्तनको रक्षा र त्यसमार्फत सामाजिक आर्थिक रुपान्तरणको दिशातर्फ देशलाई लैजानको निम्ति र आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्नका निम्ति एकताबद्ध भएर अगाडी बढ्न अपिल पनि गरेको छ ।’

बैठकले प्रतिगमनको विरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टी र तिनका नेता कार्यकर्ताहरू, नागरिक आन्दोलन, कानुन व्यवसायी, बुद्धिजिवी, पत्रकार, सबै जनवर्गिय संगठन, सामाजिक संघ संस्था र आम जनसमुदायलाई बधाई तथा धन्यवाद व्यक्त गरको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।