
प्रकाश नेपाल
इलाम । सोमबार मृत भेटिएकी उच्च अदालत विराटनगर इलाममा कार्यरत बिमलादेवी पराजुलीको हत्या आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।
मंगलबार जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गर्दै मुख्य न्यायाधीशका सुरक्षा गार्डका रूपमा कार्यरत धनकुटा होलीखर्क–५ का प्रहरी युवराज बानियाँलाई पक्राउ गरेको जानकारी दिएको हो । मृतक पराजुली र प्रहरी बानियाँबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ ।
अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको स्वीकारेको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।
कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गए पनि मृत फेला परेकी महिला उच्च अदालत भित्रै रहेको तरकारी बारी तर्फ गएको बताइएको छ । दुई जनाबी भनाभन भएको र घटना घटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक महिलाले लगाएको दुई तोलाको सिक्रीसमेत बानियाँको कोठाबाठ बरामद गरिएको छ ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमला देबी पराजुली केही समय अघिदेखि उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत हुनुहुन्थ्यो । अभियुक्त बानियाँले हत्या गरेको स्वीकार गरे पनि बलात्कार नगरेको प्रहरीसमक्ष दिएको बयानमा बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्