१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुनः गठन भयो युथ फोर्स, ओलीलाई बालकोट लैजाँदा ५ हजार सवारीले स्वागत गर्ने


0
Shares

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ । सोमबार काठमाडौंमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो ।

यस अघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भए पनि पुनः गठन गरिएको छ । ५ सय १ युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी पुष्प श्रेष्ठले पाएका छन् ।

नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको नेकपा एमालेका नेता तथा युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘युथ फोर्स सिरानमुनी राखिएको खुकुरी जस्तै हो किसानको घरको । र अप्ठ्यारो पर्यो भने संकट पर्यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौ ।’

एमालेको सिद्धान्त र जनताको बहुदलिय जनवादको रक्षा र विस्तारका लागि युथ फोर्सले महत्वपूर्ण भूमिका खेल्ने नेता बस्नेतले बताउनुभयो ।

बस्नेतले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिनुभयो । साइबर सेनासँग सहकार्य गरी एमाले विरुद्ध भ्रम छर्नेहरू विरुद्ध सही संन्देश दिने काममा भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो ।

नेता बस्नेतले केपी शर्मा ओली बुधबार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसकी पुनः नेकपा एमालेकै सरकार बन्ने दाबी पनि गर्नुभयो ।