१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चुनौती नै चुनौतीका बीच देउवा प्रधानमन्त्री, सम्बोधन गर्नैपर्नेछन् यी विषयहरू


0
Shares

रोमन आचार्य
काठमाडौं । कोरोना संक्रमणले ल्याएको विषम परिस्थिति, डाबाडोल अर्थतन्त्र, शक्तिशाली दुई छिमेकीको चासो बढिरहेको भूराजनीतिक अवस्था, संघीयतालाई मलजल गर्नुको साटो शक्तिको केन्द्रिकरण, राज्य प्रणालीमाथि विभिन्न कोणबाट भइरहेको प्रहार तथा जनतामा देखिएको वितृष्णा ।

यी र यस्ता तमाम समस्याहरुको बीचमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्री पद सम्हाल्नुभएको छ । सत्ता यात्रासँगै पार्टीभित्रै हुने जोडघटाउदेखि गठबन्धनका दलहरूकाबीच सन्तुलित व्यवहारसम्म देउवा कार्यकालको चुनौतिका रूपमा रहने देखिन्छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दुई तिहाइ जनमतको टाकुराबाट आफ्नै अहंकार र दम्भले सत्ताको न्यानोबाट बाहिरिनु भएको छ । प्रधानमन्त्रीमा पदासीन भएसँगै ओलीले बोक्न नसकेको भारी अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको काँधमा आइपुगेको छ ।

२०७४ सालमा भएको आमनिर्वाचनबाट कमजोर प्रतिपक्षीको भूमिकामा पुगेको कांग्रेस र पार्टी सभापति देउवा राजनीतिक किचमिचबीच देशको कार्यकारी भूमिकामा आसिन हुन पुग्नुभएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनका कमाण्डरका रूपमा देउवाको सत्ता पुनरागमन त भयो, तर कार्यकाल चुनौतिपूर्ण देखिन्छ । पहिलो चुनौति त, मन्त्रालय बाँडफाडबाटै सुरु हुनेछ ।

उसो त कोरोना महामारीले ठप्प हुन पुगेको जनजीवनलाई चलायमान बनाउन हरेक नागरिकलाई समयमै खोप उपलब्ध गराउनु देउवाको परीक्षणको मुख्य कडी हुनेछ । ओलीले ल्याएका संवैधानिक परिषद् लगायतका अध्यादेशहरूको खारेजी, शक्ति केन्द्रीकरणका निम्ति प्रधानमन्त्री मातहत ल्याइएका राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, राजस्व विभागलगायतका संरचनालाई पुनः विकेन्द्रीकरणको मर्म अनुसार सञ्चालन गराउनु पर्ने दायित्व देउवामा आएको छ ।

उसो त ओलीले विदेशी हस्तक्षेप बढाएको आरोपको प्रतिवाद प्रधानमन्त्रीको कुर्सीमै बसेर देउवाबाट हुनुपर्ने छ अर्थात सन्तुलित परराष्ट्र नीति व्यवहारमा देखाउनु पर्नेछ । हो, ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत पाए करिब १७ महिना र नपाए मध्यावधि निर्वाचन घोषणा गरी निर्वाचन सम्पन्न नगराएसम्म करिब ७ महिना देउवा सिंहदरबारमा रहनु हुनेछ ।

कार्यकाल जति अवधिको भए पनि चुनौतिहरूबाट भाग्ने छुट उहाँलाई छैन । ओली भन्दा फरक शासनको अनुभूति दिलाउनै पर्छ, त्यतिले नपुगेर देउवाले विगतमा सत्तामा रहँदा जुन छवि बनाउने गर्नुभएको छ, त्यो दोहोरिन नदिन पनि मेहनत गर्नुपर्ने देखिन्छ ।