१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


२०८औँ भानुजयन्ती मनाइयो


0
Shares

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा नेपाल पज्ञा– प्रतिष्ठानद्वारा आदिकविको व्यक्तित्व कृतित्व विषयक प्रवचन तथा रचना वाचन गरेर मनाइएको छ । प्रज्ञा भवन कमलादीमा रहेको आदिकवि आचार्यको शालिकमा माल्र्यापण गरी उहाँप्रति श्रद्धासुमन समेत व्यक्त गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यस वर्ष भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम गरी मनाउने योजना रहेको भए पनि कोभिड–१९ को संक्रमणको अवस्थाका कारण विशेष रूपमा मनाउन नसकिए पनि जनस्वास्थ्यको मापदण्ड पालना गरी भानु जयन्ती मनाइएको बताउनुभयो ।

उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाली पहिचान, भाषा सम्बन्धी र भावनात्मक एकतालाई नेपालमा जोड्ने नायक रहनुभएको बताउनुभयो । ‘भानु हाम्रो पहिचानसँग सम्बन्धित, भाषासँग सम्बन्धित र भावनात्मक एकतामा नेपाललाई जोड्ने सांस्कृतिक नायक हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘उहाँलाई हामीले सम्झँदै प्रेरणा लिएर नेपाली वाङ्मय, कला, साहित्य, संस्कृतिको प्रवर्द्धनका लागि सधैँ क्रियाशील रहनुपर्छ ।’

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तका रामायण, वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका कृतिहरु चर्चित रहेका छन् । उहाँको निधन विसं १९२५ असोजमा भएको थियो ।