१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलीको बहिर्गमनपछि झापावासी दुःखी, जिल्लावासीको सपनामा तुसारापात गरेको आरोप


0
Shares

सुरेन्द्र भण्डारी
झापा । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट झण्डै दुई तिहाई बहुमत सहित ३ फागुन २०७४ मा शक्तिशाली प्रधानमन्त्रीको रूपमा बागडोर सम्हालेका केपी शर्मा ओली अन्ततः आफ्नै हठका कारण पदच्यूत भएका छन् । ओली पदच्यूत हुँदाको चोट भने झापावासीमा परेको छ ।

ओलीलाई जिताउँदा झापाको विकास र समृद्धिले फट्को मार्ला भन्ने सोचेका उनीहरूको सपना ओलीको बहिर्गमनसँगै भताभुङ्ग भएको छ । लामो समयपछि आफ्नो जिल्लाले प्रधानमन्त्री पाएकोमा जिल्लावासीको गौरव नै बेग्लै थियो । राष्ट्रवाद र स्थिरताको नारा लगाएर प्रतिनिधि सभाको निर्वाचनमा झापा–५ बाट निर्वाचित ओली सत्ताको भ¥याङ चढ्दै २०७४ मा मुलुकको प्रधानमन्त्री बनेका थिए ।

विकास र समृृद्धिको मुल फुटाउने नारा दिएर आश्वासन बाँडेको ओली र उनको बाम गठबन्धनलाई बहुमत दिएर पठाए । तर, जनताले दिएको दुई तिहाइ बहुमतको बुइ चढेका ओलीले लोकतन्त्र र विधिको शासनमाथि बलजफ्ती स्वेच्छाचारिता लाद्न खोज्दा समस्या भएको झापावासीको बुझाइ छ ।

झापावासीले दुई तिहाइको ओली सरकार पाँच वर्ष मात्र नभएर दोस्रो कार्यकाल पनि चल्ने सोचेका थिए । तर, ओलीहठका कारण झापावासीको सपना पूरा नहुँदै तुहियो । आफ्नै हठका कारण ओली धेरै समय सत्तामा टिक्न नसकेको कन्काइ नगरपालिकाका स्थानीय देउमान थेवे बताउनुहुन्छ ।

प्रधानमन्त्री भएसँगै झापा सहित मुलुककै विकासमा ओलीले अतुलनीय योगदान पुर्याउने झापावासीको सपनामाथि तुसारापात भएको बिर्तामोडका स्थानीय सन्तोष उप्रेतीको भनाइ छ । दुई तिहाइ बहुमतको सरकार, त्यसमा पनि पाँच वर्षको जनादेश लिएर आएका ओली सर्वाेच्चको फैसलापछि पदबाट बाहिरिने क्रममा अदालतले राजनीतिक मुद्दामा सीमा नाघेर बोलेको भन्दै रोष प्रकट गर्दै बाहिरिनुभएको छ ।