२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


देउवा जी, अब चै ‘हामी यस्तै त हो नि ब्रो’ शैलीमा देश नचलाउनुस है !


0
Shares

संजिव कार्की

आदरणीय प्रधानमन्त्री शेरबहादुर देउपा ज्यू,
जय नेपाल !

हार्दिक बधाई र शुभकामना !

तपाई पाँचौ पटक प्रधानमन्त्री बन्नु भएको छ । सुनिदै छ ज्योतिष अझै दुई पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गर्दैछन रे तसर्थ प्रधानमन्त्री पद तपाईको लागि नयाँ टोपी लाए बराबर हो । तर आम मान्छे र राजनीति गरेर त्यो उचाइ उक्लन नसक्ने अभागीहरुको लागि प्रधानमन्त्री हुनु भनेको विरलै मान्छेलाई पर्ने भाग्योदय चिठ्ठा हो । जो कोहीले यस्तो अवसर पाउँदैन् । प्रधानमन्त्री पदको गरिमा जनताको भाग्य र भविष्यसँग जोडिएको छ । देशको कार्यकारी प्रमुखले बाटो बिराउँदा त्यसको असर देसको संबिधान कानुन बिधि र प्रणाली तहस नहस हुन्छ ।

प्रणाली नै थला पार्ने अभ्यासमा लागेको कारण वर्तमान प्रधानमन्त्रीलाई अदालतले सिस्नो पानी लगाएर घर पठाउनु परेको हो ।विषम परिस्थिति र जटिल मोडमा राज्य पुगेको बेला भाग्यमानी तपाईलाई पार्टी चुनाव हारेर पाँच वर्ष प्रतिपक्षमा बस्ने जनताको फैसला हुँदाहुँदै पनि संसदमा भएका राजनीतिक दल, अदालत र देसको कानुनले तपाईलाई प्रधानमन्त्रीको गुरुत्तर भारी बोकाउने अवस्था सिर्जना भयो ।

संख्यात्मक रुपमा प्रधानमन्त्री धेरै पटक भएको र धेरै पटक अनेकन विकृतिको रेकर्ड राख्नु भएकोले तपाईकाप्रति देशमा उत्साह त छैन तर तपाईका लागि भने विगतका काला पोतिएका प्रधानमन्त्रीकार्यकालका गलत हर्कत धुने पखाल्ने अनुपम अवसर भने पैदा भएको छ

आफ्नो गर्विलो प्रजातान्त्रिक छवि पुन २०४६ साल अघि झैँ चमकदार बनाउने र प्रधानमन्त्री बन्दा चार पटक लागेको दाग धुने सुवर्ण मौका यो पटक प्रधानमन्त्री बन्दा मिलेको छ कृपया यो मौका नचुकाउनु होला भन्ने अनुरोध गर्दै बधाई र शुभकामना लेखिरहेछु ।

प्रिय प्रधानमन्त्री ज्यू,

२०७४ सालको चुनाव पछि पाँच वर्ष कांग्रेस शासन सत्ताबाट बाहिरिएको र कम्युनिस्ट जनमत देख्दा अरु कयौ वर्ष कांग्रेस सत्ता सुखबाट बन्चित देखिने छाँटकाँट देखिएको थियो । त्यति मात्रै होइन निवर्तमान प्रधानमन्त्री ओलीले नेपालको इतिहास मै कांग्रेसको अन्तिम प्रधानमन्त्री देउवा र त्यो समय २०७४ साल पुस सम्म मात्र भएको हुँकार छोड्नु भएको थियो । करिब पचास वर्ष देसमा कम्युनिस्ट पार्टीले एकछत्र राज गर्ने धमास कमरेड प्रचन्डले दिनु भएको थियो ।

आम मान्छेले समय किटान नगरे पनि कांग्रेसलाई कम्युनिस्टबाट सत्ता खोस्न मुश्किल पर्ने धारणा राखेको देखिन्थ्यो । हारले बौरिन नसकेको कांग्रेस देख्दा यी अड्कल र धमास सत्यका नजिक जस्ता लाग्थे पनि । विधिको बिडम्बना कम्युनिस्ट पार्टीको दुर्वलता, ओलीको अहम र अक्षमताले समयले कोल्टे फेर्यो आकस्मिकताको खेल कांग्रेसलाई सत्ताको नेतृत्व गर्ने अवसर पुन प्राप्त भयो र प्रमुख प्रतिपक्षी दलको नेता हुनुको नाताले त्यो तपाईको भागमा पर्यो यसर्थ तपाई विश्व कै भाग्यमानी मान्छेको सूचीमा पर्ने राजनीतिक पात्र हुनुहुन्छ ।

स्मरणीय के छ भने यो सत्ताको अवसर तपाई बलियो भएर तपाईको पार्टी बलियो भएर प्राप्त भएको होइन यो केवल भाइ फुटे गवार लुटे उखानको चरितार्थ मात्रै हो । अत कांग्रेस बलियो भएर, कांग्रेस सुध्रेर, कांग्रेसलाई जनताले अत्यधिक समर्थन गरेको कारण पटक्कै नभएकोले कांग्रेस बलियो बनाउन पनि तपाईका हर कदमका महत्व छन् । यो मौकामा चौका हान्न सक्नु भएन भने आगामी चुनावी युद्द कांग्रेस र लोकतन्त्रका लागि सहज र सरल बन्दैनन् ।

लोकतान्त्रिक पद्दति पनि सबल हुदैन । यहाँ सबाल कांग्रेस पार्टी बिग्रनु सप्रनुमा भन्दा लोकतान्त्रिक गणतन्त्रको सुन्दर भविष्यको रह्यो,त्यसैले आजै देखि सोच विचार गरेर राजनीतिक र प्रशासनिक निर्णय गर्न ध्यान पुर्याउनुपर्ने देखिन्छ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी रहुन्जेल सजिलो थियो । यो भएन, त्यो भएन, हामी भए यसो गर्थ्यौ, तर अब प्रश्न सोध्ने ठाउँ छोडेर उत्तर दिने ठाउँमा समस्या देखाउने ठाउँबाट समस्या समाधान गरेर जबाफदेहीता प्रदर्शन गर्ने स्थानमा कांग्रेस छ त्यसैले अब कुनै पनि बहानामा कांग्रेसलाई चुक्ने छूट छैन । अब पनि चुक्नु र शेरबहादुर देउवाले असक्षमता देखाउनु भनेको कांग्रेसलाई उठन नसक्ने गरि थला पार्नु हो । कांग्रेसको विरासत गुमाउनु हो । लाखौ नेता कार्यकर्ता भएको पार्टीलाई धुलिसात पार्नु हो ।

प्रतिपक्षी त्यो पनि दुई तिहाई वाला सरकारको हुदाँ प्रश्न मात्रै गरेर बस्न पाइन्थ्यो तर अब उत्तर दिने पालो आएको छ । काम देखाउने पालो परेको छ । परिस्थितिजन्य उपजले सत्ता कांग्रेसको नेतृत्वमा आए पनि कांग्रेसको बैशाखी बन्ने र काँध दिने शक्ति विभाजित कम्युनिस्ट खेमाहरु हुन् । कम्युनिष्ट बिरुद्द लड्दै कम्युनिस्ट कै समर्थन लिनु सजिलो चै पक्कै छैन । तर अनुभवले खारिएका देउवाले आफ्नो क्षमता देखाउने कुरामा अविश्वास कसरी गरिहाल्नु रु यद्दपि विगत धमिलो र हिलोमैलो भएको कारण पुरा विश्वास गरिहाल्ने स्थिति पनि छैन ।अडको पड्को तेलको धुपको रुपमा लिएका देउवा संबैधानिक बाध्यताको पात्र हुनुहुन्छ । आफूलाई विगतको त्रुटी सच्याउने र अकबरी कांग्रेस साबित गर्ने अवस्था आएको छ ।

आदरणीय नेका सभापति ज्यू,

इतिहासले पटकपटक तपाईलाई डामेको छ । लान्छित गरेको छ । पार्टी फुटाएको देखि सत्ता राजालाई सुम्पेको प्राडो, पजेरो, संस्कृति भित्र्याएको, संसद किनबेच गरेको, बन्धक राखेको जस्ता यावत संसदीय विकृतिमा तपाईको नाम अग्र पंक्तिमा आउछ । यी सब मयल पखाल्न तपाईलाई समयले उपलब्ध गराएको सरफ पाउडर र साबुन अनि अत्याधुनिक वासिंग मेसिन पाउनु भएको छ । इतिहासको यो दुर्लभ अवसरलाई सदुपयोग गरेर आफ्नो र पार्टीको नाम रोशन गर्ने अपूर्व अवसरलाई गुमाउनु हुन्न भन्ने विश्वास लिएर यो पत्र लेखेको हुँ ।

आलोचना गर्नेले सुझाव पनि दिनु पर्छ समस्या देखाउनेले सुल्झाउने उपाय पनि भन्नुपर्छ तसर्थ नमागेको सल्लाह दिएर नागरिक दायित्व र खबरदारी निर्वाह गरिरहेछु । म तपाईलाई धेरै कुरा भन्दिन संक्षिप्तमा आफ्ना कुरा राखेर बिदा लिन्छु । तपाई उसै पनि धेरै बोल्नु हुन्न त्यो मलाई थाहा छ तर बोल्दा पनि सार्वजनिक मन्चमा बोल्दैछु या घर परिवारका सदस्यलाई हपार्दै छु हेक्का राख्नु हुन्न यो कुरा सच्याउन तपाईलाई विशेष आग्रह छ । आजको दुनियाँमा अप्रश्नीय कोही हुदैन त्यसैले प्रश्न सोध्दा गुनासो गर्दा रिसाउने कुरा किमार्थ प्रजातान्त्रिक आचरण शैली र अभ्यास होइन । यदि प्रश्नको उत्तर दिन सकिन्न र आउदैन भने सार्वजनिक अन्तरक्रियामा सहभागी नहुनु नै ठिक हुन्छ ।

पार्टीका कुरा पार्टी प्रबक्ता मार्फत र सरकारका कुरा सरकारी प्रबक्ता मार्फत बोल्न लगाउनु बोल्न नजान्ने नेताहरुको उत्तम विकल्प हो ।सरकारी सल्लाहकार विज्ञ समुह पार्टीका मान्छे भन्दा योग्य अब्बल र नीर्भीक मान्छेलाई राख्नु होला । तपाईले गर्ने गल्तीका साक्षी र सहयोगी विज्ञ र सल्लाहकार समुह बन्ने स्थिति बन्नु र बनाउनु हुदैन । राजनीति र देश चलाउने धेरैलाई आफन्त नातागोताले बिगारेको पाइन्छ यो अबधिमा राजनीति र प्रशासनका कुरा आफन्त मार्फत भए भने त्यसले नाफा नगराउने कुरामा सचेतता अपनाउन अनुरोध गर्दछु । नातावाद फरियावाद र कृपावाद आफन्तवादले धेरै सत्ताका शक्तिका हस्तीलाई पिरेको छ । हिजो ओली सरकारलाई आरोपित गरिएका बिभिन्न काण्ड र घटनाको निस्पक्ष छानबिन होस् त्यो वाइडबडी बिमान खरिद, बालुवाटार जग्गा प्रकरण, ७० करोडको गोकुल बास्कोटा टेप प्रकरण,सेक्युरिटी प्रिन्टिंग प्रेश, यति ओम्नी लगायत यावत छन् ।

ओली सरकारले गरेका गैर संबैधानिक नियुक्ति खारेज गरेर बिधि सम्मत नियुक्तिको व्यवस्था गर्नुस । ओलीले नियुक्त गरेका भनेर कुनै पनि विज्ञ र सेवा समुहका मान्छेको मान मर्दन नगरी योग्यता र क्षमताको आधारमा काम गर्ने मौका दिनुस बदला छोड्नुस । बालुवाटारमा पार्टी राजनीतिको गतिबिधि गर्ने र पार्टी कार्यालय बनाउने जस्तो अभ्यास तुरुन्तै बन्द गरेर विसुद्द सरकारी अड्डाको रुपमा बालुवाटारको मान प्रतिस्थापन गर्न बिलम्ब नहोस् । सरकार मिलिजुली र गठबन्धनको हुने भएकोले गठबन्धन अभ्यास, संस्कृति र शैलीको अनुशरण गर्नुस ताकि गठबन्धनमा खटपट भै रहने कुरा नहोस । गठबन्धन ठग बन्धन बन्नु किमार्थ नेपाली जनताको लागि स्वीकार्य छैन । आफ्नो पार्टीका नेता राम चन्द्र पौडेल लगायतसँग सत्ता चलाउन सुमधुर सम्बन्ध राख्नुस ।

सत्तामा हुने नीतिगत र सहभागीता मुलक कामको पार्टी बैठकबाट संस्थागत निर्णय गर्न नभुल्नुस । यो पटक म सरकार चलाउछु र आगामी चुनावमा पार्टीलाई जिताउछु मलाई सहयोग गर्नुस म आगामी पार्टी सभापति बन्दिन नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्ने र प्रतिस्पर्धा गर्ने बातावरण बनाउन पार्टीका अग्रज र समकक्षी सामु प्रस्ताब गर्नुस । मन्त्रि मण्डलामा युवा र काम गरेर देखाउनेलाई सारथि रोज्नुस ।

शिक्षा स्वास्थ्यको ब्यापारीकरण रोक्न र डाक्टर गोविन्द केसी संग २०७४ सालमा ल्याएको चिकित्सा शिक्षा नीतिको अध्यादेश अनुसार कामको थालनी गर्नुस जसले विश्वासको वातावरण बनाउने र पूर्व प्रतिबद्द्तामा अडिग रहने छाप प्रकट हुन्छ । आरजु म्यामको कचकच र हस्तक्षेप बढी भयो भने भनिदिनुस । कमरेड राधिका शाक्य फस्ट लेडी हुँदा कस्तो हुनुहुन्छ त्यो हेर्नुस र उहाँ बारे कहिल्यै नउठने राजनीतिक टिप्पणी र बेदाग रहने तरिका सिक्न भन्नुस । आज ओली सर्वत्र आलोचित बन्दा पनि किन राधिका शाक्यको नाममा कतै बिरोध लान्छना र आरोप छैन । यो फस्ट लेडी लगायत शक्तिशाली र सत्ताका नजिक रहने आफन्तहरुले सिक्नुपर्ने अनुशरण गर्नु पर्ने सुन्दर पक्ष र व्यवहार हो ।

कम्युनिस्ट नेताहरु र तिनको स्वभाव कमजोरी अनि विशेषता यतिन्जेल नजिकबाट चिन्नु भएको छ त्यसैले प्रचण्ड माधव नेपाल र उपेन्द्र बाबुराम सँग उच्चस्तरीय समझदारी बनाएर हातेमालो गर्नुस ताकी २०७४ को झैँ छापामार शैलीमा गठ बन्धन छोडेर अर्को सँग लगनगाँठो जोड्ने वियोगको अवस्था सिर्जना नहोस । सरकारबाट विगतमा झैँ सुसिला कार्की माथि, महाभियोग आइजीपी काण्ड जस्ता आलोकप्रिय काममा हात हाल्दै नहाल्नुस । काम सपार्न सक्नु भएन भने पनि बिगार्ने काम नगर्नुस त्यो नै कांग्रेस र तपाईको राजनीतिक पूजी बन्नेछ ।आलम प्रवृति र वृतिलाई बोक्न छोड्नुस, अदालती र कानुनि प्रक्रियामा गएको मुद्दामा अदालतको निर्णय पर्खनुस राजनीतिक र प्रशासनिक निर्णय गरेर कुनै पनि अपराधिक घटनाको ढाकछोप गर्ने र शक्तिको दुरुपयोग गरेर अन्याय गर्नेलाई चौतारो र पीडितलाई फाँसीको अवस्था विल्कुल बन्द गर्न पहल गर्नुस ।

आम मान्छेको हिजो अर्थात विगत छिटो बिर्सने र यो भन्दा हिजो नै ठिक भन्ने मनस्थिति छ त्यसैले त्यसमा मलजल हुने आज खराब देखिने कुनै पनि राजनीतिक कदम लिने त के सोच्ने सम्म नगर्नुस िगलत काम अज्ञानता बस समेत गर्ने अधिकार छैन नियत झन् राख्दै नराख्नुस । महामारीमा जनस्वास्थ्य भन्दा ठूलो केही छैन त्यसैले जनतालाई बचाउने काम नै पहिलो र राहत दिने योजना नै बनाएर काम गर्नुस । जनता वचाउन सके विकास अर्को वर्ष गर्न सकिन्छ । दैवीप्रकोप, प्राकृतिक प्रकोपमा परेकालाई सरकार छ विपदमा भन्ने संदेश दिन तत्काल राहत उद्दार र सहयोग गर्ने भरपर्दो वातवरण बनाउनुस ।

यतिबेला ओली आक्रोश र सत्ता छोड्नु पर्दाको छटपटीमा आगो बन्नु भएको छ । उहाँका प्रति नकारात्मक टिप्पणी नगर्न पार्टीलाई व्हिप जारि गर्नुस र उहाँ अलिक शितल भए पछि भेट गरेर राजनीतिक संस्कृति र चरित्रको उदारता पेश गर्नुस । विपी,गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद र महेन्द्र नारायण निधि जस्ता हस्तीको चेलो र राजनीतिक संगत प्रेरणाको प्रदर्शन गरेर आफ्नो प्रजातान्त्रिक संस्कार देखिने गरि अभ्यास गर्नुस । म जस्तो भए गरे पनि उही सबैले चिनेको देउवा हुँ भन्ने बिर्सेर आफुलाई म यस्तै त् हो नि ब्रो को टाइप भन्दा पर गएर सुधारिएको छवि निर्माण गर्न अपिल गरेको छु यो अपिल आम कांग्रेस जान र देसको लोकतान्त्रिक पद्दति चाहने मान्छेहरुको सदिच्छा हो ।

कृपया देउवा ज्यू,

यो पटक तपाईलाई असफल हुने छूट छैन यदि तपाई असफल हुनु भयो भने आगामी चुनाव पछि कांग्रेसको सम्भावित उदयलाई रोक्न तपाईका कमजोरी काफी हुनेछन । देउवा जित्दा र शक्तिमा रहदा पार्टी हार्छ र पार्टीले ठूलो मूल्य चुकाउनु पर्छ भन्ने भाष्य बदल्न मेहनत गर्नुस यस्तो अवसर कांग्रेसको लागि पुन पुन नआउन सक्छ । यो पटक पद्दति बिगारे भनेर त्यो सपार्ने जिम्मा लिएर आउनु भएको छ । सो विश्वासलाई मर्न नदिन बिधि बिधान र पद्दति बसाल्ने कुरामा कतै र कोहीसँग पनि अनावश्यक सम्झौता नगर्नुस् । शेरबहादुर परिवर्तित भएर पद्दतिमा आए भन्ने अवस्था बनाउनुस कांग्रेस जिताउन बल पुग्छ । गठबन्धन टिकाउन र सत्ता मिलिजुली चलाउन नेतृत्व गर्नेको ठूलो छाती चाहिन्छ त्यो छाती माधव नेपाल समुहले मोलेको राजनीतिक जोखिमको पक्षलाई राहत मिल्नेगरी समेटने गरि लिन पनि विशेस अनुरोध गर्दै पत्र अन्त्य गर्दछु ।

उही तपाईको भलो चाहने रैती
संजिव कार्की