
डम्बर बुढा मगर
बागलुङ । निसीखोलाको शिर मानिने रिग ताल । यहाँबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याइ रहे झैँ देखिन्छ । पातीहाल्ने र रिग ताल पुग्ने जो कोहि यहाँको सौन्दर्यमा मोहित हुने गर्दछन् ।
गण्डकी प्रदेशको निसीखोला र लुम्बिनी प्रदेशको पूर्वी रुकुमको सिमानामा रहेको यस क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । मध्यपहाडी लोकमार्गले जोडिएपछि यसको प्रचारप्रसार तीव्र हुँदा यसको रौनक बढ्न थालेको हो । अझ लोकमार्ग कालोपत्रे भए पछि यस क्षेत्रको मुहारै फेरिएको छ ।
कोरोना कहरका पनि पर्यटकहरू पातीहाल्ने पुग्ने गरेका छन् । मुख्य गरेर सिजनमा आन्तरिक पर्यटकको अत्यधिक भिडभाड हुने गरेको छ । अझ वैशाख, जेठ, असार महिनामा गर्मी छल्न र हरियाली प्रकृतिसँग रम्न जानेको संख्या अत्यधिक बढ्ने गरेको निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य सूर्यमान बुढा मगर बताउनुहुन्छ ।
केहि वर्ष अघिसम्म गाउँका भेडी गोठालेहरूले पानी खाने ताल र घना जंगलले ढाकिएको पातीहाल्नेमा सडकको सुविधा पुगेसँगै बस्ती बढ्न थालेको छ । पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ भने रिग ताल पातीहाल्नेबाट उत्तरतर्फ १५ मिनेटको पैदल दूरीमा पर्छ ।
अहिले तालसम्म पुग्न निसीखोला गाउँपालिकाले सडक निर्माण गरेको छ । जसले गर्दा पैदल र गाडीमा पनि सहजै तालमा पुग्न सकिन्छ । यो रिग तालको नाम मगर खाम भाषाबाट बनेको बुढा मगरको दाबी छ ।
‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घखाँची, पर्वत लगायतका ठाउँहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी लगायतका दर्जनौं हिमश्रृंखला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्यहरू अवलोकन गर्नसमेत सकिन्छ ।
ताललाई व्यवस्थित गर्नको लागि निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण गर्न थालेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । यस क्षेत्रको विकासका लागि डिपीआर तयार भइसकेको उहाँको भनाइ छ । तालसम्म अझै सेवासुविधा विस्तार हुनसके यस क्षेत्रलाई पर्यटकीय हवको रूपमा विकास गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्