१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जटिल बन्दै कांग्रेस क्रियाशील सदस्यता वितरण, पार्टी कार्यालयमा धर्ना


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिेवेशनको मिति नजिकिँदै गर्दा क्रियाशील सदस्यताको विषय जटिल बन्दै गएको छ । क्रियाशील सदस्यता नविकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्यूनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ट कार्यकर्ताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरू संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय परिसरमा धर्ना बसेका छन् । क्रियाशील सदस्यता वितरण धाँदली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशील सदस्यता वितरण गरेको धनुषाका महासमिति सदस्य रामउदय यादवले बताउनुभयो । उहाँले निर्णय सच्याउनका लागि दबाब दिन धर्ना बसेको स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ता पनि सदस्यता वितरणमा धाँदली भएको भन्दै धर्ना बसेका छन् । नेपाली कांग्रेस जीतपुर वडा नम्बर ७ का सभापति रामबाबु गुप्ताले आफ्नो वडाबाट मात्रै ९६ जनालाई चोरबाटोबाट सक्रिय क्रियाशिल सदस्यता थप्ने काम भएको दाबी गर्नुभयो । उहाँले त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराई ध्यानाकर्षण गराउँदा पनि नभएपछि आफू केन्द्रमा आएर धर्ना बसेको बताउनुभयो ।

क्रियाशील सदस्यतालाई नेपाली कांग्रेसको मेरुदण्ड मानिन्छ । केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले असार महिनामा क्रियाशिल सदस्यता वितरणमा देखिएको समस्या निरुपण गरि अन्तिम टुंगो लगाउने बताएको थियो । तर, अधिकांश जिल्लामा क्रियाशिल सदस्यता वितरण सम्बन्धमा विवाद चुलिदै गएको छ । दैनिक जसो पार्टी कार्यालयमा धर्ना बस्ने कार्यकर्ता बढ्दै जानुले विवाद समाधान भन्दा पनि जटिल बन्दै गएको छ ।