
प्रज्ञा तिमल्सीना
काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्ने महत्वपूर्ण अस्त्र भनेको खोप नै हो । सबै देशहरूले खोप लगाउनमा जोड दिइरहेका छन् । नेपालले समेत आगामी चैतभित्र सबै जनतालाई खोप लगाइसक्ने घोषणा गरिसकेको छ । अघिल्लो सरकारले खोप ल्याउन नसकेका कारण बारम्बार विवादमा परिरहेको सन्दर्भमा नयाँ सरकारले गरेको निर्णय पनि पूरा हुने नहुनेमा शंका छ ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज भित्र एक तिहाई जनसंख्यालाई र चैत भित्र सबै नेपाली जनतालाई कोरोना खोप लगाइसक्ने निर्णय गर्यो । समयमै खोप खरिद गर्न नसकिएको सन्दर्भमा नयाँ सरकारले पुन नयाँ निर्णय गर्दा त्यो पनि पूरा हुने नहुनेमा आंशका उब्जिनु स्वभाविकै हो ।
खोप खरिदमा समस्या भोगिरहेको सरकारले अबको ९ महिना भित्र ३ करोड नेपालीलाई खोप लगाउन सम्भव छ त ? स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारी केही समय खोप नै नपाउने अवस्था रहेकोमा अहिले खोप आपुर्तिको समस्या नरहेको बताउनुहुन्छ । विभिन्न देशहरूले कोभ्याक्स कार्यक्रम अन्र्तगत खोप दिन खोजिरहेको भन्दै उहाँले खोप प्रदानमा अन्र्तराष्ट्रिय राजनीति समेत जोडिएकाले अब समस्या नहुने विश्वास व्यक्त गर्नुहुन्छ ।
नेपालमा अब आउने अधिकांश खोप चीनबाटै आउने मन्त्रालयले जनाएको छ । भेरोसेल र कोभिशिल्ड खोप नै धेरै व्यक्तिलाई लगाइने जानकारी दिँदै सहप्रवक्ता डा. अधिकारी धेरै देशबाट ठूलो संख्यामा खोप आउने देखिएकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने आधारहरू रहेको बताउनुहुन्छ ।
‘१ करोडभन्दा धेरै खोप चाँडै नै आउने देखिएको छ, धेरैभन्दा धेरै खोप केन्द्र बनाएर सर्वसाधारणसम्म पुग्ने हाम्रो लक्ष्य हो,’ उहाँ भन्नुहुन्छ, ‘पहिलेजस्तो धोका नहोला भन्ने अपेक्षा गरेका छौँ ।’
नेपालमा हालसम्म कोभिशिल्ड र भेरोसेल खोप ३७ हाल ३० हजार बढी व्यक्तिले लगाइसकेका छन् । त्यसमध्ये ६ लाख ४८ हजारले भेरोसेल र ४ लाख ६० हजारले कोभिशिल्डको दोस्रो डोज खोप पूरा गरेका छन् । याे तथ्याङ्क अनुसार हाल सम्म जनसंख्याको करिब १३ प्रतिशतले खोप लगाइसकेका छन् । यसरी हेर्दा असोजसम्ममा ३८ लाख व्यक्तिलाई खोप लगाउनुपर्नेछ ।
खोप आपूर्ति सहज भइरहेको मन्त्रालयको भनाइ मान्ने हो भने असोजसम्म ७५ लाख जनसंख्यालाई खोप लगाउन सक्ने देखिन्छ । समयमै खोप खरिद गर्न नसक्दा नेपालले दोस्रो लहरको संक्रमणमा निकै ठूलो क्षति बेहोर्नु परेको छ । तेस्रो लहरको खतरा पनि औँल्याइरहेको अवस्थामा बेलैमा खोेप अभियान अघि नबढ्ने हो भने झन् ठूलो क्षति ब्यहोर्नु नपर्ला भन्न सकिँदैन ।
प्रतिक्रिया दिनुहोस्