४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर सञ्चालन


0
Shares

काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर सञ्चालनमा आएको छ ।

आर्थिक वर्षको पहिलो दिन एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले रिबन काटेर नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गर्नुभएकोे हो । कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले परिवर्तित समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताउनुभयो ।

‘प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनुपर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसाथ गर्दै यो चरणमा आइपुगेका हौं,’ उहाँले भन्नुभयो, ‘यो अन्त्य होइन, प्रारम्भ हो, हामीले संसारमा आएका धेरै टेक्नोलोजीलाई अवलम्बन गर्नैपर्छ ।’ भाैतिक दूरीलाई जति घटाउन सक्यो त्यति सशक्त हुँदै जाने उल्लेद गर्दै सिलवालले यसबाट समयको बचतसँगै इमान्दार व्यावसायिक प्रयास भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीसँग पटक–पटक विवरण माग्नुपर्ने र सही विवरण आउन नसक्ने भएकोले सही विवरण दिने प्रयत्नले नयाँ सफ्टवेयर र नयाँ सर्भर ल्याएको बताउनुभयो । ‘अब कुन कम्पनीको अवस्था कस्तो छ भनेर हेर्न सहज भएको छ,’ निर्देशक पौडेलले भन्नुभयोे, ‘बीमा कम्पनीसँग अब चाँडै जोडिएर यो सफ्टवेयरलाई चलायमान बनाउनेछौं ।’

बीमकहरूबाट समितिलाई पठाउनुपर्ने महत्वपूर्ण तथ्यांकहरू उपलब्ध गर्ने कार्य कठिनाई भएकोले समग्र बीमा व्यवसायको तथ्यांक व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राही तथा सरोकारवालाहरुलाई काम छिटो, छरितो रूपमा सम्पन्न गर्न सूचना प्रविधिको प्रयोग गरी समितिको संस्थागत तथा बीमा व्यवसायसँग सम्बद्ध बीमा नियमनकारी व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित गर्न नयाँ सर्भर र सफ्टवेयर जडान गरिएको समितिले जनाएको छ ।

मितिमा अब कम्पनीहरुले आफ्ना वित्तीय विवरण लगायतका अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभइ सफ्टवेयरबाट नै अनलाइन माध्यमबाट तपशील बमोजिम दैनिक,मासिक, त्रैमासिक, वार्षिक रुपमा पेश गर्न सक्नेछन् । यसमा कानून, उजुरी, नियमन, नीति विश्लेषण, परिपालन, दाबी तथा सम्पत्ती शुद्धिकरण, बीमालेख तथा बीमाङ्की, अण्डराइटिङ, वित्तीय लेखा परीक्षण, सूचना प्रविधि सम्बन्धी विवरणहरू प्राप्त गर्नेछन् ।

त्यस्तै स्थलगत सुपरीवेक्षण, गैरस्थलगत सुपरीवेक्षण, कृषि तथा लघु बीमा, पुनर्बीमा, इजाजत, बीमा अभिकर्ता र सर्भेयर, व्यवस्थापन सूचना प्रणालीसम्बन्धी विवरणहरु पनि अनलाइन माध्यमबाटै पेश गर्न सकिनेछ । त्यस्तै समितिको आन्तरिक तथ्यांक व्यवस्थापनमा र बीमकहरुबाट प्राप्त हुने विविध प्रकृतिका तथ्यांकहरू व्यवस्थापन गर्नका लागि नयाँ सफ्टवेयर जडान गरिएको ससितिले जनाएको छ ।