
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा क्रियाशील सदस्यको छानविन अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
७५ जिल्लाहरूबाट पठाइएका क्रियाशील सदस्यहरूको फाइल हेरेर छानविन प्रक्रिया टुंगिएको अवस्थामा पु¥याइएको नेता पौडेलले बताउनुभयो । अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरूको पनि छानविन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने उहाँको भनाइ छ ।
कांग्रेसको १४ औँँँ महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएका छन् । तर, यसमा कतिपय सदस्य उजूरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन् । अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकोले ८ लाख ५० हजार क्रियाशील सदस्य कायम हुनसक्ने नेता पौडेलको भनाइ छ ।
प्राविधिक काम मात्र बाँकी रहेको चार दिनभित्र क्रियाशील सदस्यको हार्डकपी सभापतिलाई बुझाउने पौडेलले बताउनुभयो । उहाँले महाधिवेशन कार्यतलिकामा केही फेरबदल हुने पनि जानकारी दिनुभयो । क्रियाशील सदस्यता प्रारम्भिक मतदाता नियमावली भएकोले यसको टुंगो लागेपछि धेरै काम सकिने र धमाधम महाधिवेशन सुरु हुने बताउनुभयो ।
क्रियाशील सदस्यका अधिकांश विषय सहमतिमै टुंगिसकेको भन्दै नेता पौडेलले मर्यादा उल्लंघन गरेर असहमति जनाउने विषयलाई कडाइका साथ रोक्नुपर्ने बताउनुभयो । सहमति र मापदण्ड दुवैबाट नटुंगिएका ७० भन्दा बढी वडाका विवरणलाई पदाधिकारी बैठकमा पठाइएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्