१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्याे, १ गतेदेखि कार्यान्वयन


0
Shares

काठमाडौं । सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ ।

सरकारले साउन १ गतेदेखि लागू हुनेगरी चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक १५ हजार रुपैयाँ पुर्‍याएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५ हजार पुर्‍याउने घोषणा गरेका थिए ।

अब श्रमिकले आधारभूत पारिश्रमिक बापत नौ हजार ३ सय ८५ रुपैयाँ र महँगी भत्ताबापत पाँच हजार ६ सय १५ रुपैयाँ गरी मासिक १५ हजार रुपैयाँ पाउने भएका हुन् । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ३ सय ६१ रुपैयाँ र महंगीभत्ता २ सय १६ रुपैयाँ गरी प्रतिदिन ५ सय ७७ रुपैयाँ पाउने छन् ।

यस्तै घन्टाको हिसाबले काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ४८ रुपैयाँ र महंगी भत्ता २९ रुपैयाँ गरी प्रतिघन्टा ७७ रुपैयाँ पुगेको छ । यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँ थियो । श्रम ऐन, २०७४ मा प्रत्येक दुई÷दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ ।

सोही ऐन अनुसार नै गत वर्ष नै न्यूनतम पारिश्रमिक पुनरावलोकन हुनुपर्ने भए पनि कोरोनाका कारण अर्थतन्त्रमा क्षति पुगेको भन्दै सरकारले यस वर्ष मात्र पारिश्रमिक वृद्धि गरेको हो । यसैबीच श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक १२ हजार ८१ रुपैयाँ तोकेको तोकेको छ ।

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना २०७८ बैशाख २० गते राजपत्रमा प्रकाशित गरिसकेको थियो ।