
काठमाडौं । नेकपा माओवादी केन्द्र पनि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा सहभागी भएको छ ।
मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गर्नुभएको हो । उहाँहरू दुवै जनालाई प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले सपथग्रहण गराउनुभएको हो ।
मन्त्री साहले कसैको राष्ट्रको नाममा शपथग्रहण गर्दा राज्यमन्त्री कर्ण सहिदको नाममा शपथ लिनुभएको थियो । उहाँहरूले मातृभाषामा शपथ गर्न इच्छा देखाए पनि कानुनी जटिलताका कारण नेपाली भाषामै शपथ लिनुभएको थियो ।
माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुई मन्त्रीलाई राजीनामा दिन लगाइएको थियो । मुख्यमन्त्री राउत समक्ष आन्तिरक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार अबेर राजीनामा बुझाएका थिए ।
जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराउनुभएको थियो ।
सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर, मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि माओवादी सरकारमा सहभागी भएको थिएन ।
प्रतिक्रिया दिनुहोस्