
काठमाडौं । कर्णाली र गण्डकी प्रदेश सरकारले अहिलेसम्मकै धेरै बजेट खर्च गर्न सकेका छन् । विनियोजन गरेको बजेट पर्याप्त खर्च गर्न नसकेको आरोप लागिरहेका प्रदेशहरुले गतवर्षको भन्दा खर्चमा सुधार गरेका छन् । ११ म हिनामा ९ अर्ब जेनतेन खर्च गरेकाे कर्णाली प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम पाँच दिनमा ५ अर्ब रुपैयाँ खर्च गरेकाे छ ।
कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा ६५.८ प्रतिशत मात्र बजेट खर्च गरेको छ । गत आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट विनियोजन गरेकोमा २१ अर्ब ९६ करोड २ लाख रुपैयाँ खर्च गरेको हो । जसमा पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाखको ७० दशमलव ६३ र र चालुतर्फ १४ अर्ब ६७ करोड २२ लाखको ५७.८७ प्रतिशत बजेट खर्च भएको हो ।
गत आर्थिक वर्षमा प्रदेश सरकाले अहिलेसम्मकै बढी बजेट खर्च गरेको छ । प्रदेश सरकारले गत आर्थिक वर्षको तुलनामा ३२.४४ प्रतिशत धेरै रकम खर्च गरेको छ । मन्त्रालयहरू मध्ये सबैभन्दा बढी बजेट खर्च गर्नेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय रहेको छ । जसले ८२ दशमलव ०५ प्रतिशत खर्च गर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७१ दशमलव ५२ प्रतिशत खर्च गर्दै दोस्रो भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्षको अन्तिममा ठूलो मात्रामा बजेट खर्च गरेको छ । गत आर्थिक वर्षको ११ महिनामा नौ अर्ब खर्च गरेको कर्णाली सरकारले असार अन्तिम ५ दिनमा ५ अर्ब १३ करोड २३ लाख रुपैयाँ खर्च गरेको थियो ।
गण्डकी प्रदेश सरकारले हालसम्मकै बढी ७३ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले २५ अर्ब ७४ करोड १४ लाख बजेट खर्च गरेको छ । कोभिड–१९ संक्रमणका कारणले २७ प्रतिशत अर्थात ९ अर्ब १० करोड ७ लाख रुपैयाँ खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेशको चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख विनियोजन गरेकोमा ८ अर्ब १२ करोड ६९ लाख र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख विनियोजन गरेकोमा १७ अर्ब ६१ करोड ४४ लाख बजेट खर्च भएको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । प्रदेशमा सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयबाट करिब ८२ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्