
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने भएको छ । उसले सत्ता साझेदार दलहरुबिच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने समेत बताएको छ ।
साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने समेत उपेन्द्र समूहको अडान छ ।
दुई खेमामा विभाजित जसपाको यादव पक्षको हिजो बसेको संसदीय दलको बैठकमा बहुमत सांसद उपस्थित थिए । प्रतिनिधिसभा पुर्नस्थापनाको मागसहित सर्वोच्च अदालतमा जाँदा उपेन्द्र यादव पक्षमा जसपाका १२ सांसद मात्र थिए ।
तर अहिले पाँच जना सांसदले महन्थ ठाकुर पक्ष छाडेका छन् । सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानी ठाकुर पक्ष छाडेर यादव पक्षमा लागेका छन् ।
अरु सांसदहरु पनि आउने र आफूहरुको पक्षमा २० जना पुग्ने यादव पक्षका सांसद मोहम्मद इस्तियाक राई बताउँछन् । हिजो बसेको संसदीय दलको बैठकमा सरकारमा पार्टीको सहभागिता र सम्भावित मन्त्रालयबारे छलफल भएको छ ।
वैठकमा नेताहरुले सरकारमा जति दल सहभागी हुन्छन्, उनीहरुलाई समान हैसियतमा मन्त्रालय बाँडफाँट हुनुपर्ने धारणा राखेका छन् । यसको अर्थ उपेन्द्र यादव समुहले कम्तिमा ७ मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने अडान लिने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्