
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पार्टीको कुनै बैठक बालुवाटारमा नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।
जवाफमा प्रधानमन्त्री देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना कार्यक्रम भइरहेकाले बैठक बालुवाटार राखेको जवाफ दिनुभएको थापाले बताउनुभयो ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै थापाले अबबाट त्यस्तो नहुने पनि प्रधानमन्त्रीले बचन दिएकाे जानकारी दिनुभयो ।
‘उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनु भएको छ’, थापाले भन्नुभयाे ।
बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास भएकाले त्यहाँ कुनै पार्टीको कार्यक्रम गरेको भन्दै नागरिक समाजलगायतले अवाज उठाउँदै आएका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै बैठकहरु बालुवाटारमै गर्नुभएको थियो । प्रधनमन्त्री देउवाले समेत केही दिनअघि संसदीय दलको बैठक बालुवाटारमा नै राख्नुभएको थियो । यसका सर्वत्र आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्