२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाँचथरको जोरसालमा व्यापारिक गतिविधि घट्दै, स्थानीय भन्छन्– ‘अहिले त विरक्त लाग्छ’


13
Shares

प्रकाश नेपाल
इलाम । २०१० देखि व्यापारिक केन्द्रको रूपमा विकसित पाँचथरको फिदिम नगरपालिका–४ स्थित जोरसाल बजार जिल्लाको पुरानो बजार हो । एक दशक अघिसम्म जिल्लाकै व्यापारिक गतिविधिको केन्द्रविन्दु बनेको जोरसाल बजारमा पछिल्लो समयमा व्यापारिक गतिविधि घट्दै गएको छ ।

जोरसालमा कुनै बेला हजारौं मानिसको भीडसँगै बजार लाग्ने गरेको थियो । मेची राजमार्गले बीच भागमा काटेको जोरसाल बजार त्यतिबेला जिल्लाकै ठूलो व्यापारिक केन्द्रको रूपमा रहेको स्थानीय तुङ्मप्रसाद भण्डारीको भनाइ छ । ‘उबेला हरेक पर्व र औँसी–पूर्णिमामा समेत मेला लाग्ने ठाउँ अहिले यस्तो भएको देख्दा विरक्त लाग्छ’ उहाँले भन्नुभयो ।

जिल्लाकै यासोक, भारपा, रानीटार सहित तहथुमको आठराई लगायतका गाउँहरूको केन्द्रविन्दुको बजारको रूपमा रहेको भए पनि ती क्षेत्रहरूमा सडक पुगेपछि जोरसाल बजारको व्यापारिक गतिविधि सुस्ताएको हो । विभिन्न समयमा मेला, हाट बजार लाग्ने गरेको जोरसालमा अहिले एकादेशको कथा जस्तै बनेको छ ।

ग्रामीण क्षेत्रका मानिसहरूलाई सडकले झापा सँग नाता गाँसिदिएपछि व्यापारिक कारोबार शून्य प्राय बनेको व्यापारिहरूको तर्क छ । सडक विस्तार भएपछि बजार विकेन्द्रित बन्दै गएकोले पहिलेको अबस्थामा फर्कने आशामा स्थानिय बसेका छन् ।

केही बर्षअघिसम्म घरै पिच्छे पसल रहेको जोरसलाममा अहिले सामान्य ३, ४ वटा चियापसल र किराना पसल मात्र देख्न सकिन्छ । बजार चल्न छाडेपछि यहाँका कतिपय व्यापारीहरू पलायन भएका छन् भने केहीले व्यापार व्यवसायको पाटो नै परिवर्तन गरेका छन् । मुुलुकमा संघियता कार्यान्यनमा आएसँगै धैरै स्थानका बजारहरू चहलपहल हुन थाले पानि यो बजारको अवस्था भने झनै दयनिय बनेको हो ।

व्यापार व्यवसाय शून्य जस्तै भएकाले पनि यस ठाँउमा बजार विस्तार हुन सकेको छैन । यहाँ अहिले पनि पुराना शैलीमा बनिएका झिँगटिका छाना भएका घरहरू देख्न सकिन्छ । त्यो बेला मेची राजमार्गको कारण मौलाएको जेरसाल बजार अहिले ग्रामीण सडकको विकास सँगै सुस्ताएको छ । सडक विस्तारले जिल्लाका ग्रामीण क्षेत्रहरूमा कतै नयाँ बजार विस्तार गरेको छ भने केही पुराना बजारहरूलाई विस्थापित हुने स्थितिमा पुर्याएको छ ।