
दीपक श्रेष्ठ
काठमाडौं । साउन महिनाभर अधिकांश हिन्दु महिलाहरू हातमा मेहेन्दी, हरियो चुरा, गलामा हरियो पोते र हरियै पहिरनमा सजिने गर्दछन् । हरियो श्रृंगारमा सजिएका महिलाहरू देवादीदेव महादेवको ब्रत बस्ने गर्दछन् भने सोमबार शिवालयहरूमा पुगेर पूजाआजासमेत गर्ने गर्दछन् ।
हिन्दू परम्परागत अनुसार चुरा, पोते र टीका नारीको सौन्दर्य मानिन्छ । त्यसमाथि हरियो वस्त्रले उनीहरूको सौन्दर्यलाई थप उजागर गर्ने गर्दछ । ज्योतिषशास्त्र अनुसार, हरियो रङ बुध ग्रहको प्रतिक हो । बुध बलियो हुँदा सन्तान सुख साथै बुद्धि र समृद्धिसमेत प्राप्त हुने शास्त्रीय मान्यता छ ।
विवाहित महिलाका लागि खुशी र सौभाग्यको प्रतीक रात रङ हो भने परिवार र जीवनमा खुशी ल्याउने रङको रुपमा हरियो रङदलाई लिइन्छ । हरियो रङको प्रयोगले भगवान महादेव प्रसन्न हुने जनविश्वास पनि रहेको छ ।
साउन महिनामा सबै भगवानहरू पृथ्वीमा आउने भएकाले भगवानको आस्था भएर लगाउने गरेको मन्दिरमा भेटिएका दर्शनार्थी बताउँछन् । विवाहित महिला पतिको लामो आयुको कामना गर्दै मन्दिर आएका छन् भने अविवाहित राम्रो पतिको कामना गर्दै व्रत बसेर मन्दिर आएको बताउँछन् ।
हिन्दू साँस्कृतिक परम्परासँगसँगै अर्थतन्त्र पनि जोडिएर आउने गर्दछ । साउनको हरियो पहिरनले चुरा पोते र हरियो रङका वस्त्रहरूको व्यापार पनि बढेको व्यापारीहरू बताउँछन् । हरियो, पहेँलो र रातो चुरा, पोते, टिका, चुरा तथा मेहन्दी र पोलिसहरूको बिक्री बढेको कस्मेटिक पसलका व्यापारीहरूकाे भनाइ छ ।
यस्ता परम्पराले संकृतिलाईमात्र समृद्ध मात्रै बनाउँदैन, आर्थिक गतिविधि बढाउनसमेत टेवा पुर्याइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्