
डोलराज रानाभाट
चितवन । गत असार ११ गतेदेखि वेपत्ता चितवन राप्ती–३ की २३ वर्षीय सुजिता भण्डारीको असार २० गते जंगलमा शव भेटिएको थियो । उनको पोष्टमार्ट र भिसेरा परीक्षण पछि न्याय पाउने आश गर्दै परिवारले भावविह्वल अवस्थामा हिजो अन्त्येष्टी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार परिवार सहितको छलफलमा प्रहरीले घटनाको अन्तिम निचोडमा पुग्नै लागेको बताएपछि परिवार आश्वस्त हुँदै शव बुझ्न तयार भएका थिए । स्थानीयले भने सत्यतथ्य सार्वजनिक नहुँदासम्म शव नबुझ्न आग्रह गर्दै आएका थिए । अन्त्येष्टीमा स्थानीय उपस्थित नभए पनि परिवारका सदस्य, छिमेकी, महिला अधिकारकर्मी, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिरहेको थियो ।
घटनाको चाँडै सत्यतथ्य सार्वजनिक गरी दोषीलाइ कडा कारबाहीको माग स्थानीयको छ । उनीहरूले फेरि पनि दोषी पत्ता लगाउनका लागि आन्दोलन गर्नुपर्ने वातावरण नबनाउन प्रहरीलाई आग्रह गरेका छन् ।
असार २१ गते घटनाको सत्यतथ्य छानविन सहित दोषीलाई पक्राउ गर्न माग गर्दै स्थानीयले राजमार्ग नै अवरुद्ध पारेका थिए । दुई दिन कर्फ्यू समेत लगाउन परेको थियो । तर, पोष्टमार्टम र भिसेरा परीक्षण समेत गराएर शवको अन्तिम दाहसंस्कार हुँदासम्म मृत्युको कारण भने अझै पत्ता लागेको छैन ।
पोष्टमार्टम रिर्पोटमा कुनै शंकास्पद नभेटिएपछि भिसेरा परीक्षण गरिएको थियो । तर, रिपोर्ट आएको छैन । रिपोर्ट नआए पनि व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भने जारी राखेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानलाई परिवारले चित्त बुझाएपछि शव बुझेर अन्येष्टि गरिएको भण्डारीका छिमेकीको भनाइ छ ।
राप्ती २ का वडाअध्यक्ष श्यामसुन्दर उप्रेतीले पनि सबै गाउँलेको एउटै आवाज सत्य तथ्य छाविन सहित दोषीलाई कडा कारवाही हुनुपर्ने रहेको बताउनुभयो । घटना आत्महत्या दुरुत्साहन तर्फ उन्मुख भएको बताइएको छ । तर, प्रहरीले यसबारे औपचारिक जानकारी दिएको छैन ।
प्रतिक्रिया दिनुहोस्