१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तिलोत्तमामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी सुरु


0
Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अनलाइन प्रणालीबाट राजस्व संकलन सुरु गरिएको छ । सेवा सुरु भएसँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । नगरपालिकाले सुरु गरेको डिजिटल प्रविधिको मंगलबार एक समारोहका बीच नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गर्नुभयो ।

नगरपालिकाले सम्पति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो । योसँगै स्थानीय तहलाई बुझाउनु पर्ने राजस्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ । राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाएको नगर प्रमुख घिमिरेले बताउनुभयो ।

कर तिर्न लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरु सहज हुने उहाँको भनाइ छ । अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक छिटो र सहज तरिकाले राजस्व संकलनको आँकडा थाहा हुनेछ । यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने र यसले योजना निर्माणलाई पनि सहज बनाउने नगरपालिकाको विश्वास छ ।

करदाताले कर तिर्न ई–पोर्टलमा विवरण भरेर दर्ता हुनुपर्छ । त्यसपछि ई–सेवा र खल्ती डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोवाइलबाटै कर भुक्तानी गर्न सकिनेछ । यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ । यो प्रणाली सुरु गर्न करदाता पहिलो एक पटक वडा कार्यालमा गएर विवरणहरू अद्यावधिक गराउनुपर्छ । त्यसपछि घरमै बसेर सेवा लिन सकिनेछ ।

करदाताको विवरण पेश गरेपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा स्वचालित प्रणालीबाट तयार भएको कर विवरणलाई रुजु र स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम सम्बन्धी सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ ।

यसैबीच तिलोत्तमा नगरपालिकाले मंगलबार नै सेवाप्रवाह सम्बन्धी विभिन्न सफ्टवेयर तथा एप्लिकेशनहरू सार्वजनिक गरेको छ । नगरपालिकाले अनलाइन राजस्वसहित ई–पेमेन्ट, अनलाइन सिफारिस, कर्मचारी व्यवस्थापन अनुगमन तथा मूल्यांकन सिष्टम, टुरिजम एप, सम्पूर्ण सामुदायिक विद्यालयहरुमा मोबाइल एप्लिकेशन, हेल्लो मेयर सिष्टम, डकुमेन्ट व्यवस्थापन सिष्टम, नगरपालिका मोबाइल एप, सेन्ट्रलाइज्ड सिष्टम लन्चिङ गरेको हो ।