
काठमाडौं । भारतले नेपालका राजदूतसहित सार्वजनिक जीवनमा सक्रिय व्यक्तित्वको फोन जासुसी गरेको सार्वजनिक भएको छ ।
दिल्ली मिसनमा रहेका नेपालसहित चीन, इरान, पाकिस्तान र साउदी अरबियाका राजदूतको फोन गैरकानुनी तरिकाले ह्याक गरेर नियमित जासुसी गरेको खबर बाहिरिएको हो ।
इजरायली कम्पनी एनएसओले बनाएको जासुसी सफ्टवेयर पेगाससमार्फत संसारभर करिब ५० हजार फोनको जासुसी गरिएको रिपोर्ट सार्वजनिक भएको छ ।
निगरानीमा राजनीतिकर्मी, संवैधानिक आयोगका पदाधिकारी, कूटनीतिज्ञ, पत्रकार र मानवअधिकारकर्मीहरु परेका छन् ।
एनएसओले आतंकवादी गतिविधिको सूचना संकलन गर्ने उद्देश्यले पेगासस बनाएको दाबी गरेको छ । तर, भारतमा भने सार्वजनिक जीवनमा सक्रिय व्यक्तित्वको फोनमा पेगाससबाट हमला गरिएको पुष्टि भएको छ ।
कुनै पनि नागरिकको फोन जासुसी गर्नु गम्भीर अपराध मानिन्छ । नेपाली राजदूतको फोन ट्यापिङको विषयमा नेपाल सरकारले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।
परराष्ट्र मन्त्रालयले फोन जासुसीबारे भारत सरकारबाट जानकारी माग्न दिल्लीस्थित राजदूत नीलाम्बर आचार्यलाई निर्देशन पठाएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्