
जितेन्द्र भण्डारी / प्रकाश नेपाल
इलाम / पाँचथर । पाँचथरकाे राँके बजार नामै खाफी छ। राजमार्गको सडक पेटीमा यसरी सजाएर राखिएका राता अकबरे खुर्सानीले भरिएका बट्टा, पोका–पोकामा सजिएका नौनी घ्यु, र टुक्रा पारेर नाङ्लोमा फिँजाइएका छुर्पीको दृश्यले पर्यटक बोलाइरहेको भान गराउँछ । यसो हेर्दा यो बजारमा कृषि उपजको मात्रै कारोबार भएको देखिन्छ ।
तर अहिले कोरोनाका कारण लामो समयसम्म भएको बन्दाबन्दिले यहाँको ब्यापार व्यवसायमा खस्कीएको छ । बाह्य जिल्लाबाट आउने पर्यटकले धानेको यहाको व्यवसाय पर्यटकहरु नआउँदा ठप्प देखिन्छ । लामबद्ध मिलाएर राखिएका बट्टाहरूमा राताम्मे अकबरे खुर्सानी छन् । डल्ला पारेर लहरै राखिएको नौनी घ्यूका पोका अनि दालको पोका, यस्तै ललिपपको हार र अर्गानिक चियाको पोका प्रत्येक पसलमा भेटिनु यो बजारको पहिचान हो । तर, यहि गुल्जार बजार अहिले सुनसान देखिदा यहाँका बासिन्दाको मन निकै खिन्न देखिन्छ ।
बन्दाबन्दी अघिसम्म ग्राहकले गाडीबाटै मागे थपक्क दिन ठिक्क पारिएको कोसेलीको पाकेट पसलेको हातहातमै देखिन्थ्यो । तर अहिले यहाँको दृश्य फरक छ । मेची राजमार्ग हुँदै ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुगेर फर्कने यात्रुले कोसेलीका रूपमा बजारमा राखिएको कृषिउपज खरिद गर्ने भएकाले राँके कोसेली बजारका रूपमा चिनिँदै आएको छ । राँके बजारका अधिकांश पसलमा कृषिउपजकै मात्र कारोबार हुन्छ । यहाँ बिक्री गरिने नौनी घ्यू र अकबरेले निकै चर्चा कमाएको पनि छ । तर, बन्दाबन्दि पछि यो ब्यवसाय धान्नै समस्या भएको स्थानीय ब्यापारी पार्बता अधिकारीको गुनासो छ ।
यात्रुको बाक्लो चाप हुने यो बजारमा दैनिक लाखौं रूपैयाँको कृषिउपजको कारोबार हुने गरेको थियो । फागुन महिनादेखि जेठ महिनासम्म अनि कात्तिक र मंसिर महिनामा राम्रो व्यापार हुने गरेकोमा यो बजारले दुई बषर्भ अघिदेखि बन्दाबन्दिको मार खेप्नु परी रहेको छ । इलामको एकतप्पा, आमचोकदेखि पाँचथरका पौवा सार्तापलगायतका गाउँका किसानका लागि राँके मुख्य बजार हो । ताप्लेजुङको पाथीभरा, पौवाभञ्ज्याङ, साधुटारलगायतका पर्यटकीय क्षेत्रमा घुम्न आएका सिक्किम दार्जि्लिङ देखि काठमाडौं, पोखरा, विराटनगर लगायतका स्थानका पर्यटकले फर्किएर जाँदा धेरै जसोले राँकेबाट कोसेली लिएर फर्किने गरेका छन् । तर, अहिले अवस्था बदलिदा यहाँका बासिन्दाको समस्या बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्