
गोपाल पोखरेल
विराटनगर । विराटनगरस्थित कोइराला निवासलाई अधिकांश कांग्रेसीजनले तीर्थ मान्छन् । यो थलोले तीन दाजुभाइ मातृका, वीपी र गिरिजाप्रसाद कोइरालालाई देशको कार्यकारी प्रधानमन्त्री बनायो । तर, कोइराला परिवारभित्र वंशका नाममा राजनीति गर्ने धेरै जन्मिए पनि यो थलोको संरक्षणमा परिवारका सदस्य नै बेखबर बनेका छन् ।
कोइराला परिवारका कान्छा सदस्य गिरिजाप्रसाद कोइराला कुनै महत्वपूर्ण निर्णय गर्नुप¥यो विराटनगरस्थित घर नै रोज्थे । दुःख पीडामा रहेका कांग्रेसका कार्यकर्ता यहिँ ओत पाउँथे । कांग्रेस नेतृ नोना कोइराला रहेसम्म यो घरले त्यो धर्म निर्वाह गरेको थियो । अहिले यो घर बेहुली अन्माएकोजस्तो बनेको छ ।
कोइराला निवासको मूल घर अगाडि ठूला–ठूला महल बनेका छन् । दोस्रो पुस्ताका कोइरालाहरूले अंशमा आएको जमिन आफूखुसी बेचेपछि कोइराला निवासको रङ्ग उडेको हो । राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसले अधिकांश समय सत्ता चलाए पनि यस्ता विषयमा उसको ध्यान जान सकेको छै । राजनीतिक मन्दिरलाई संरक्षण नगर्दासम्म बीपीप्रति ओठे देखाएर मात्र केही नहुने कार्यकर्ताको गुनासो छ ।
बीपीको साइँला भाइ केशवका छोरा शेखर कोइरालाले आफ्नो भागमा रहेको सम्पति संरक्षण गरेका कारण कोइराला निवासको मूलघर अहिलेसम्म जोगिएको छ । मुलुकमा प्रजातन्त्र ल्याउन र राणा शासन अन्त्य गर्न कोइराला परिवारको गुन बिर्सन सकिदैन ।
त्यतिमात्र हैन, बीपीका पिताजी कृष्णप्रसाद कोइरालाले घरपरिवारका महिला सदस्यलाई शिक्षित बनाउन त्यहीबेला आदर्श स्कुल स्थापना गरेर समाज सुधारको अभियान थालेका थिए । धैरै प्रजातन्त्र प्रेमीहरूले यस्तो ऐतिहासिक ठाउँलाई संग्रहालय बनाउन पटक–पटक माग गरे पनि सुनुवाइ नभएको प्रजातान्त्रिक आन्दोलनका स्वतन्त्री सेनानी तोरेन्द्रमानसिंह प्रधान बताउनुहुन्छ ।
स्थानीय निकायले संग्रहालय बनाउने प्रतिबद्धता व्यक्त गरेपनि काम अघि बढेको छैन । बरु यहाँका महत्वपूर्ण सामग्री काठमाडौंको सुन्दरीजलमा रहेको बीपी संग्रहालयलाई हस्तान्तरण गरेपछि यहाँका स्थानीय झस्किएका छन् । कांग्रेस अहिले सत्तामा भएका बेला कार्यकर्ताको आवाज सुन्नुपर्ने कांग्रेसका पुराना नेता अनिल खनाल बताउनुहुन्छ ।
अन्य देशमा देशका राजनेताहरूको थातथलो संरक्षण गरिएजस्तै विराटनगरको कोइराला निवासलाई पनि त्यही रूपमा विकास गरी आन्तरिक र वाह्य पर्यटकको आकर्षण बढाउनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्