१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बीपीले प्राण त्यागेको घर पार्टी प्यालेसमा परिणत, सम्पदा संरक्षणमा कोइराला परिवारकै बेवास्ता


0
Shares

अक्कल कुँवर
काठमाडौं । देशका लागि योगदान गर्ने राजनेताको थातथलो, उनीहरूले प्रयोग गरेका सामग्री संग्रहालय बनाएर अर्को पुस्ताका लागि कोसेली दिने विश्वव्यापी परम्परा छ । तर, नेपाली राजनीतिका मूर्धन्य व्यक्तित्व बीपी कोइराला बसेको काठमाडौं मित्रपार्कस्थित घर पार्टी प्यालेसमा परिणत भएको छ ।

यही ठाउँ हो, जहाँ हजारौं कार्यकर्ता बीपीलाई सुन्न भेला हुन्थे । लोकतन्त्रका लागि हुने आन्दोलनका क्यालेण्डर बन्थे । देशी विदेशी नेता भेटघाट गर्न आउँथे । राजनीति मात्र हैन, साहित्य र सिर्जनाका बहस छलफल हुन्थे । बीपीको बहुचर्चित आत्मवृतान्त समेत यही घरमा रेकर्ड भएको थियो ।

यो ऐतिहासिक घर पार्टी प्यालेसमा परिणत भएको छ । बीपी कोइराला बसेको सुन्दरीजल बन्दीगृह संग्रहालय बनाउने सरकारले यो ठाउँलाई पनि संरक्षण गनुपर्ने आवाज उठेको छ । यो घरमा बसेर बीपीले गर्ने दैनिकीलाई कांग्रेस नेता तथा लेखक पुरुषोतम बस्नेत अहिले पनि स्मरण गर्नुहुन्छ ।

२०३३ सालमा मेलमिलापको नीति लिएर जेलजीवन भुक्तानपछि बीपीले अधिकांश समय यही घरमा बिताए । क्यान्सरले ग्रस्त भएपछि यही घरमा उनको प्राण पखेरु उड्यो । सञ्चारमाध्यममा अन्तर्वार्ता यही घरमा बसेर दिन्थे । समाजवादको व्याख्या गर्थे । राजामहाराजासँग भेटघाटका लागि यही घरबाट प्रस्थान गर्थे । बीपीलाई मान्ने र नमान्ने दुवैका लागि यो घर आश्रय थियो ।

प्रात भ्रमणमा निस्किने देखि पशुपतिनाथको दर्शनपछि बीपीलाई भेट्न शुभचिन्तकहरूको भीड लाग्थ्यो । घरपरिवारका सल्लाह यही घरमा हुन्थे । घर एउटा परिवारको भए पनि हक सबैको लाग्थ्यो । त्यसो त यो घर बीपीका काइँला भाइ तारिणीपुत्र ज्योतिको नाममा छ ।

आफ्ना पितापुर्खाको नामबाट सामाजिक प्रतिष्ठा आर्जन गरे पनि उनीहरूलाई अमर राख्ने काममा कोइराला परिवारकै सदस्य आलोचित हुँदै आएका छन् । विराटनगरको कोइराला निवासजस्तै मित्रपार्कको घर पनि विवादमुक्त छैन । यसलाई सम्पदाको रूपमा विकास गर्न कुनै समय परिस्थितिले दिएन भने कुनै समय चासो राखिएन ।

बीपी कोइराला नामले मात्र नभएर कामले पनि सम्झनुपर्ने नाम हो । नेपाली राजनीति र साहित्यका क्षेत्रमा यो नामले देशमा मात्र नभएर विदेशमा पनि प्रतिष्ठा आर्जन गरेको छ । वर्तमान राजनीतिक नेतृत्वले अघिल्लो पुस्तालाई सम्मान गरेमात्र आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने तथ्यलाई घाँटी–घाँटीसम्म बुझ्नु जरुरी छ ।