
एजेन्सी । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । बैठक आज दिउसो ३ बजे ललितपुरको च्यासस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।
पार्टीको ह्वीप उल्लंघन गर्ने २२ सांसदलाई हिजो सोधिएको स्पष्टीकरणबारे आज थप छलफल हुने बताईएको छ ।
पार्टी निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले हिजो स्पष्टीकरण पत्र पठाएको छ ।
एमालेले संसदीय दलको विधान विपरीत पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने र गुटगत गतिविधिमा लागेको भन्दै माधव नेपाल समूहका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको हो ।
साउन ५ गतेको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएकोबारे भने उल्लेख छैन ।
तर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाइएको छ ।
उनीहरुले दिने जवाफ चित्तबुझ्दो नभएमा पार्टीबाट निश्कासन गर्ने ब्यहोरा पनि पत्रमा खुलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्