१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


किसानलाई खोप खै ?


0
Shares

म्याग्दी । अहिले देशैभरि विभिन्न वर्ग, पेशा र उमेर समूहका व्यक्तिहरुलाई धमाधम कोरोना विरुद्धको खोप लगाइदै छ । सरकारले पनि कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको छ ।

खोप केन्द्र नै स्थापना गरेर कोरोना विरुद्धको खोप अभियान चलिरहेको भएता पनि म्याग्दीका किसानहरुले भने खोप लगाउन नपाएको गुनासो गरेका छन् ।

सरसफाइकर्मीदेखि लिएर शरणार्थी र कार्यालय जाने कर्मचारीदेखि लिएर विदेश जाने व्यक्तिहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप लगाइरहेको भए पनि हरेक मानिसको जीवनसंग जोडिएको अन्न, फलफूल र तरकारी उत्पादन गर्ने किसानलाई भने उपेक्षा गरेको उनीहरुको गुनासो रहेको छ ।

किसानका हितमा काम गर्ने विभिन्न संघसंस्थाहरुले किसानलाई खोप उपलब्ध गराउन माग गरे पनि सरकारले वास्ता नगरेको उनीहरुको भनाइ छ । नेपाल किसान संघ म्याग्दीले कोरोना खोपका लागि पटक पटक पहल गरेपनि सुनुवाइ नभएको जनाएको छ ।

खेतबारीमा काम गर्ने, धेरै भीडभाडमा काम गर्ने, बजारसँग प्रत्यक्ष घुलमिल हुने किसानहरूलाई कोरोनाको खोप उपलब्ध गराउन सरकारले ढिला गर्न नहुने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

म्याग्दीमा खेतबारीमा काम गर्ने,पशुपालन गर्ने, पोल्टी क्षेत्रमा काम गर्ने, डेरीमा काम गर्ने किसान तथा व्यवसायीहरुले अझैसम्म पनि खोप लगाउन नपाएका थापाको भनाइ छ ।

कोरोना महामारीको समयमा अरु व्यक्तिहरु घर भित्र नै सुरक्षित रहने भएपनि किसानहरु भने निरन्तर काममा खटिइरहनुपर्दछ ।

कोरोना संक्रमणको जोखिम मोलेर कामका खटिइ अन्न तथा तरकारी उत्पादन गरेर उपभोक्ताहरुको घरघरमा पु¥याइदिने किसान नै खोपबाट बञ्चित रहनु दुर्भाग्य भएको बेनी नगरपालिका २ खबराका अगुवा कृषक शोभित शर्माले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म अनुदान र खरिद गरेर ९७ लाख ८२ हजार ८५० खोप भित्रिएको छ ।

यतिधेरै खोप आउँदा पनि कृषि प्रधान देशमा किसानले नै खोप लगाउन नपाउनु दुर्भाग्यपूर्ण भएको किसानहरुको गुनासो रहेको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले सरकारले तोकेका विभिन्न उमेर समूह अन्तर्गतका किसानहरुले पनि खोप लगाएका र लगाउन बाँकी सबैलाई क्रमशः लगाइने जनाएको छ ।