१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भाडा समायोजनको माग राख्दै उपत्यकाका यातायात व्यवसायी आन्दोलित, ट्राफिक व्यवस्थापन अस्तव्यस्त


0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । भाडा समायोजनको माग राख्दै सार्वजनिक सवारी तथा मिटर ट्याक्सी व्यवसायी राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका छन् । सवारी साधनको भाडा समायोजन ९ वर्षदेखि नभएको तर, सरकारले सवारी साधनको करलगायत अन्य सामानको मूल्य वृद्धि निरन्तर गरेको व्यवसायीको आरोप छ ।

हरेक क्षेत्रमा मूल्य वृद्धि हुँदा सार्वजनिक सवारीको पनि वैज्ञानिक भाडा समायोजन हुनुपर्ने यातायात व्यवसायीको माग छ । यसका लागि पटक–पटक सरकारसँग आग्रह गर्दा पनि आफ्ना माग सम्बोधन नभएको उनीहरुको गुनासो छ । ९ वर्षदेखि भाडा समायोजना नभएको जानकारी गराउँदा पनि सरकारले वास्ता नगरेपछि आफूहरू र्‍याली गर्न बाध्य भएको व्यवसायीको भनाइ छ ।

‘कान भएको सरकार आएको भन्ने चर्चा भइरहँदा त्यो सरकारले हाम्रो कुरा पनि सुनोस्,’ एक यातायात व्यवसायीले भने, ‘यदि त्यसो हुन नसकेको खण्डमा आम हड्ताल पनि हुनसक्छ ।’ सडक आन्दोलनविना केही विषयको पनि सम्बोधन नहुने भएकाले आफूहरू बाध्य भएको उनीहरूको भनाइ छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघको अगुवाइमा सुरु भएको आन्दोलन रचनात्मक ढंगले अगाडी बढेको उनीहरूले बताएका छन् । काठमाडौं उपत्यकाको रिङ्गरोडभित्र र रिङ्गरोड बाहिर चल्ने ट्याक्सी र सार्वजनिक यातायातका साधन आज रिङ्गरोडमा जम्मा भएर र्‍याली निकालेका थिए । सार्वजनिक सवारीको र्‍यालीका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो भने यात्रुले सास्ती भोग्नुपर्यो ।

यातायात व्यवसायीले आफ्ना माग सम्बोधनमा सरकार गम्भीर नबनेको बताइरहँदा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे भने तीन तहको सरकारहरूको समन्वयको विषय भएको बताउनुभयो । अहिले देखिएको समस्याको समाधान प्रदेश सरकारलको क्षेत्राधिकारभित्र रहेको उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारले आवश्यक सहयोग मागेमा विभागले सहयोग गर्नेसमेत जनाएको छ ।

आफूहरू पहिलो चरणको आन्दोलनमा रहेको व्यवसायी बताउँछन् । यो आन्दोलनबाट सरकारले आफ्ना माग पूरा नगरे अर्को चरणको आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ ।