
प्रज्ञा तिमल्सीना
काठमाडौं । कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप हालसम्म बागमती र गण्डकी प्रदेशमा मात्र वितरण गरिएको छ । बाँकी ५ वटा प्रदेशमा जोन्सनको खोप अभियान सुरु हुन सकेको छैन ।
साउन ४ गतेदेखि लगाउन सुरु गरिएको जोन्सनको खोप हालसम्म ८१ हजार ३ सय ५२ जनालाई लगाइएको छ । ५० देखि ५४ वर्ष उमेर समूहका १४ लाख, अपाङ्गता भएका, खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र २५ हजार शरणार्थीलाई खोप लगाउने निर्णय भयो ।
कतै ढुवानीको त कतै रेफ्रिजेरेटरको समस्याका कारण खोप अभियान सुरु हुन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही पालिकाहरूले भने भेरोसेल खोप नै बाँकी रहेको भन्दै अहिले नै जोन्सनको खोप अभियान सञ्चालन गर्न नसक्ने बताएका छन् ।
पालिकाहरूले नै सञ्चालन गर्न नसक्ने भनेपछि अभियान सञ्चालन हुन नसकेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको परिवार कल्याणा शाखाका प्रमुख डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो ।
जोन्सनको खोप सबै भन्दा बढी बागमती प्रदेशमा ७८ हजार व्यक्तिले लगाएका छन् । गण्डकी प्रदेशमा ३ हजार व्यक्तिले खोप लगाइसकेका छन् । सरकारले काठमाडौं उपत्यकामा नै १ लाख डोज जोन्सनको खोप उपलब्ध गराएको थियो । सोचे भन्दा कम व्यक्ति आएपछि १८ वर्ष उमेर समूह माथिकालाई पनि खोप लगाउन सुरु गरेको पोखरेलले जानकारी दिनुभयो ।
अमेरिकाको औषधि सम्बन्धी नियामक निकायले जोन्सनको खोपले स्नायू सम्बन्धी दुर्लभ समस्या ल्याएको जनाएपछि खोप लगाउन सर्वसाधारण हच्किएका हुन् । स्वास्थ्य मन्त्रालय र विज्ञहरू भने जोन्सनको खोप लगाउन डराउनु नपर्ने बताउँछन् । ‘१ करोड २० लाख भन्दा बढी व्यक्तिम लगाइएको मध्ये १ सय जनालाई नशासम्बन्धी समस्या देखिएको थियो,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्नुहुन्छ, ‘त्यो एकदम दुर्लभ हो, तर धेरै चिन्ता नलिइ ढुक्कसँग खोप लगाउँदा हुन्छ ।’
विश्व स्वास्थ्य संगठनले मान्यता दिएकाे र १८ वर्ष उमेरभन्दा माथिका व्यक्तिहरूमा सफल भएका खोपहरू मात्र लगाउन सुरु गरिएकाले खाेपकाे विषयमा संसय नराख्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीकाे आग्रह छ । सरकारले नागरिकाे स्वास्थयमाथि खेलवाड नगर्ने भन्दै उहाँले आश्वस्त पार्नुभएकाे छ ।
देशमा भित्रिएका खोपहरू सबै ठाउँमा समान रूपमा र द्रूत गतिमा लगाउने वातावरण बने सम्भावित तेस्रो लहरको जोखिमलाई न्यूनिकरण गर्न मद्दत पुग्नेछ । त्यसतर्फ सरोकारवालाको ध्यान जानु अत्यावश्यक छ ।
प्रतिक्रिया दिनुहोस्