१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुरामा कांग्रेसको चुनावी सरगर्मी, देउवा गुटभित्रै दुई उपगुट


0
Shares

टेकराज अवस्थी
डडेल्धुरा । नेपाली कांग्रेसको सातौँ जिल्ला अधिवेशन नजिकिँदै गर्दा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी सरगर्मी बढ्न थालेको छ ।

गुट–उपगुटमा विभक्त कांग्रेसको आसन्न निर्वाचन देउवाको गृह जिल्लामासमेत पेचिलो बन्दै गएको छ । देउवाको छत्रछायाँमा रहेको नेताहरू जिल्ला नेतृत्वमा उम्मेदवारी दिन तम्सिएका छन् । पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेर तीन नेताहरू चुनावी तयारीमा लागेका छन् ।

सभापतिमा कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्ट, महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्ट र परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदबीच कडा प्रतिष्प्रर्धा हुने देखिएको छ । आफू देउवाको उम्मेदवार भन्दै अघि सरेका साउँद र सभापति हुने पालो आफ्नो भएको दावी गर्दै प्रचारप्रसारमा लागेका दुई भट्टले गाउँ–गाउँमा अभियान तीव्र पारेका छन् ।

पार्टीभित्र मौलाएको गुटबन्दी मिलाउन छोडेर नेताहरू कार्यकर्तालाई बेवास्ता गर्दै एकल रूपमा चुनावी दौदाहमा छन् । देउवाको आशिर्वाद पाएर जिल्लामा तरङ्ग ल्याएका साउँदले पार्टीलाई एकताबद्ध बनाएर लैजाने गरी उम्मेदवारी दिएको दावी गर्नुहुन्छ । वडा, पालिका, जिल्ला र प्रदेशस्तरमा सर्वसम्मत उम्मेदवारी गरेर पार्टीभित्र रहेको असमझदारी हटाउने उहाँ बताउनुहुन्छ ।

डडेल्धुरामा देउवाबाहेक कांग्रेसको अरु कुनै समूह वा गुटले त्यति अस्तित्व राखेको इतिहास छैन । जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीका पूर्वसभापति रघुवर भट्ट गरी देउवा गुटमै दुई उपगुट छन् । भइरहेको आन्तरिक प्रचार प्रसार अभियानले स्पष्ट रूपमा जिल्लामा त्रिपक्षीय प्रतिष्प्रर्धा हुने देखिएको छ । जिल्ला, नगर र वडास्तरिय चुनावमा पनि गुटगत अभियानहरू तीव्र पारिएका छन् ।

सभापतिका लागि आकांक्षी रहेका उम्मेदवारबीच सहमति गराउन प्रयास हुँदाहुँदै पनि उम्मेद्वारहरूले एकअर्काको अस्तित्व स्वीकार नगरी चुनावी अभियानमा लाग्दा सहमतिको वातवरण खल्बलिएको सभापतिकर्ण बहादुर मल्ल बताउनुहुन्छ । प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले नै डडेल्धुराका लागि गुटगट राजनीतिको प्रारम्भ गरिसकेपछि गुटविहीन अवस्थामा अधिवेशन सम्पन्न नुहने मल्लको भनाइ छ ।

सभापतिका लागि आकांक्षी देखिएकाहरू आफू खुसी चुनावी दौडमा होमिँदा र क्रियाशील सदस्यता विवाद पनि गुटगत रूपमा रहेकाले कांग्रेस डडेल्धुराको सातौं अधिवेशन पेचिलो र सकसपूर्ण देखिएको छ ।