
खिलनाथ ताजपुरिया
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई सहकार्य र संस्कृतिका उदार नेता मानिन्छ । कम्युनिष्ट र लोकतान्त्रिक शक्ति नमिलेसम्म देशमा लोकतन्त्र आउँदैन भन्ने निष्कर्षमा पुगेका उनको जीवन यही आदर्शको जप र तपमा बित्यो ।
तर, उनकै दीक्षाप्राप्त चेलाचपेटा गुट, फुट, चुट र झूटमा रमाइरहेका छन् । वर्तमान कम्युनिष्ट नेतृत्व शक्ति र सत्तामोहले बदनाम हुँदै गइरहेको छ । ७२ वर्षअघि स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी उमेरभन्दा बढी टुक्रामा विभाजित छ । एउटै भाँडोको भात खाएका, एउटै ओछ्यानमा वर्षौं सुतेका साथीबीच पानी बाराबारको अवस्था छ । पार्टीका संस्थापक पुष्पलाल समेत गद्दारबाट विभूषित भएको नमिठो इतिहास छ ।
२००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पुष्पलाल संस्थापक पार्टीको संस्थापक महासचिव थिए । इतिहासको यही जगमा टेकेर २०५१ सालमा मुलुकमा पहिलो पटक कम्युनिष्ट सरकार बन्यो । २०६४ सालपछि त आधा दर्जन कम्युनिष्ट नेताहरू प्रधानमन्त्री बने ।
२०७४ को निर्वाचन अघि एकीकृत कम्युनिष्ट बनाउने भन्दै गरिएको चुनावी गठबन्धनले तात्कालिन ठूला दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीबीच एकीकरण भयो । जनताले झण्डै दुई तिहाइको विश्वास दिए । सत्तालाई जेट विमान भन्दै शीर्ष नेताहरू पाइलट भएको अभिनय गरे ।
तर, गन्तव्य नपुग्दै जहाज विवादको भुमरीमा फस्यो । आफ्नै सरकार ढाल्न यदुवंशी युद्ध भए । वृहद् नेपाल कम्युनिष्ट पार्टी देख्न चाहने पुष्पलालको सपना त्यतिबेला भताभुङ्ग भयो, जतिबेला केपी ओली सरकार ढाल्न माधव नेपाल धार उपयोग भयो ।
पार्टीका दोस्रो तहका नेताहरूको व्यक्तिवादी चरित्र, पदको लालचा र सत्तामोहका कारण कम्युनिष्ट आन्दोलन कमजोर भएको स्वयं त्यही दलका नेताहरू स्वीकार्न थालेका छन् । एमाले युवा नेता विशाल भट्टराई पार्टीका विकृति फाल्न लोकतान्त्रिक संस्कार बसाउन आवश्यक भएको बताउनुहुन्छ ।
पार्टीलाई एकतावद्ध बनाउन युवा नेताहरूले प्रयास जारी राखेका छन् । तर, भुसको आगो निभ्ने छाँट अझै देखिएको छैन । बरु प्रतिशोधको आगोले दुवै पक्षमा उन्माद थपिएको छ । यस अवस्थामा पार्टीको जग बसाउने नेतालाई आत्मसात गरी मन, वचन र कर्मले सिंगो एमाले बचाउन सकियो भने पुष्पलालप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।
प्रतिक्रिया दिनुहोस्