
राकेश बस्नेत
दाङ । कोरोना महामारी बढेसँगै वैदेशिक रोजगारीमा जान नपाउँदा घरमै अलमलिएका दाङका युवा कृषिमा आकर्षित भएसँगै उत्पादमा पनि वृद्धि भएको छ । सरकार तथा स्थानीय सहकारी संस्थाहरूले कृषिमा विभिन्न अनुदानका कार्यक्रम ल्याउने तथा मल र बिउको व्यवस्था गरिदिने भएपछि किसानमा उत्साह थपिएको हो ।
गत वर्ष ३७ हजार हेक्टरमा धानखेती गरिएको दाङमा यस वर्ष करिव ४० हजार हेक्टरमा रोपाइँ गरिएको छ । अहिलेसम्म ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । त्यसमा पनि विभिन्न उन्नत र स्थानीय जातको धान खेती भएको छ । धान मात्र नभइ मकै पनि वर्षमा ३ पटक उत्पादन हुँदै आएको केन्द्रका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेल बताउनुहुन्छ ।
जिल्लाका विभिन्न स्थानहरूमा जौ जोन, मकै जोन जस्ता कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ । सिँचाइको समस्याले धेरै जमिनहरू बाँझो राख्नुपरेका किसानलाई राहत भएको छ । कृत्रिम जलाशय, लिफ्ट सिँचाइ, नहर, पक्की कुलोले गर्दा पानीको सहज भएपछि खेती गर्न सजिलो भएको कृषकहरू बताउँछन् ।
यता स्थानीय सरकारले पनि कृषिलाई प्रमुख प्राथामिकतामा राखेर काम गर्दै आएको जनाएको छ । बाँझो जमिन नराख्ने नीति अगाडि सारेपछि अहिले तुलसीपुर उपमहानगरकाका ९० प्रतिशत ठाउँहरूमा खेती हुँदै आएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको भनाइ छ । जिल्लामा बाँझो जमिनको अवस्था घट्दो क्रममा रहेको पाण्डे बताउनुहुन्छ ।
जिल्लामा नगदे बालीलाई पनि प्राथमिकता दिइएको छ । यसअघि पानीको सुविधा नभएका स्थानमा नगदेबालीको खेती गर्न किसानहरू आर्कर्षित भएका हुन् । जिल्लामा आलु, गोलभेँडा, काउली, बन्दालगायतका तरकारी उब्जनी हुँदै आएको छ । स्थानीय सरकारले कृषिको पकेट क्षेत्रका पहिचान गरी अनुदानलगायतका कार्यक्रम गरे कृषकलाई प्रोत्साहनका साथै उब्जनीमा पनि वृद्धि हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्