
रोमन आचार्य
काठमाडौं । वडा अधिवेशन सुरु हुन चार दिन बाँकी रहँदा नेपाली कांग्रेसभित्र महाधिवेशनको रौनक छैन । कार्यतालिकाअनुसार असार मसान्तभित्र सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यताको अन्तिम सूचीमा हस्ताक्षर गर्नुपर्ने थियो । तर, क्रियाशील छानबिन समितिले आजसम्म आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा कांग्रेस तल्ला तहको अधिवेशन प्रभावित भएको छ ।
आफ्नै विधान र नियमावली पल्टाएर एकपटक नेतृत्वले अध्ययन गर्ने हो भने कांग्रेसभित्र महाधिवेशनको मेरुदण्ड मानिने क्रियाशील सदस्यताका विषयमा अनसनदेखि भौतिक आक्रमण सम्मको वातावरण बन्ने थिएन । निरन्तर क्रियाशील सदस्यता नविकरण र वितरण नगर्दाको परिणाम पार्टीको सांगठनिक जीवनमाथि थुप्रै प्रश्न उब्जिएका छन् । वडा अधिवेशन आउन ४ दिन बाँकी रहँदा अझै ४ जिल्ला र करिव १ सय वडाको क्रियाशील विवाद टुंगोमा पुगेको छैन ।
सप्तरी र बारामा पार्टी समायोजनमा देखिएको विवाद र क्रियाशील अभिलेखमा भएको ढिलासुस्तीले छानबिन समिति समस्यामा परेको हो । चाङमाथि चाङ लागेका उजुरीले सिन्धुपाल्चोक र रसुवामा नयाँ सदस्यता वितरण र समायोजनको लफडा समितिले शीर्ष नेताको टाउकोमा खन्याएको छ । विवाद धनुषा क्षेत्र नम्बर ४ र सर्लाही क्षेत्र नम्बर २ पनि विवादरहित छैन ।
यतिबेला क्रियाशील सदस्य छानबिन समिति यी स्थानलाई छोडेर प्राविधिक त्रुटी सच्याउन र अन्तिम प्रतिवेदन तयार गर्न लागि परेको छ । तर, पार्टी केन्द्रीय कार्यालय सानेपामा आफूहरू मर्कामा परेको तथा पार्टीले लोकतान्त्रिक पद्धति अपनाउनु पर्छ भन्दै धर्नादेखि आमरण अनसनमा तल्ला तहका नेता तथा कार्यकताहरू बसेका छन् । जसको समाधान अब केन्द्रीय तहबाट गर्नुपर्ने छानबिन समितिको भनाइ छ ।
करिब १० लाख क्रियाशील सदस्य पुर्याउने महत्वाकांक्षा राख्नु, विधानको पालना नगर्नु र क्रियाशील सदस्यको संख्यामा खेल्न सके महाधिवेशन आफूअनुकुल बनाउन सकिन्छ भन्ने मान्यता कांग्रेसमा छ । विशेष गरेर पार्टी समायोजन र अन्य दलबाट प्रवेश गरेकाहरूको नाममा क्रियाशील वितरणमा भएको मनलाग्दीले समस्या जटिल बनाएको हो । पार्टीलाई आफ्नो बिर्ता ठान्ने नेतृत्वका कारण कांग्रेसको आन्तरिक जीवनमा चोट लागेको हो ।
प्रतिक्रिया दिनुहोस्