
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.भीम रावलले जनता र मतदाताको व्यापक आग्रहपछि राजीनामा फिर्ता लिएको बताउनुभएको छ ।
राजीनामा फिर्तापछि सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट गर्दैै डा. रावलले सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुद्धिजिवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको बताउनुभयो ।
स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआइ आफूले राजीनामा दिएको पनि उहाँले ट्वीटमा उल्लेख गर्नुभएको छ ।
डा. रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मत लिनुभन्दा अघि रावलले सांसद पदबाट राजीनामा दिनुभएको थियो । अनैतिक राजनीतिक खेलमा आफू संलग्न नहुने भन्दै रावलले राजीनामा घोषणा गर्नुभएको थियो ।
रावलले दिएको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गर्नुभएको थिएन भने एमाले पार्टीका नेता–कार्यकर्ताले फिर्ताका लागि दबाब दिइरहेका थिए ।
राजीनामा फिर्ता लिनका लागि पार्टी अध्यक्ष केपी ओलीका साथै नेता माधव नेपालले दबाब दिनुभएको थियो । नेता नेपालले त रावल निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको थियो । रावल अछामबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
शुक्रबार संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिँदै रावलले आफ्नो कारण दुःख भएकामा सभामुखसँग क्षमायाचना पनि गरेको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्